थप समाचारबिहीबार, फाल्गुण २४, २०६९
सिरियामा २१ शान्ति सैनिक अपहरित
अपहरणको पुष्टि गर्दै विद्रोहीले आफुहरूलाई सिरियाली सरकारी सैनिकको आक्रमणबाट जोगाउनका लागि शान्ति सैनिक अपहरण गरेको बताएका छन् ।
सिरियमा अपहरणमा परेका ती सैनिक फिलिपिन्सका हुन् । फिलिपिन्सका करिब तीन सयजना शान्ति सैनिक सिरियामा छन् । सैनिकलाई सिरिया र इजरायलको युद्धविराम क्षेत्रका रुपमा रहेको सिरियाली भूभागतर्फको गोलान हाइटमा राखिएको बताइएको छ । अपहरणमा परेका सैनिकलाई विद्रोहीले आफ्नो नियन्त्रणमा राखेका दृश्य इन्टरनेटमा राखिएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले अपहरित सैनिकलाई तुरुन्तै रिहा गर्न माग गरेका छन् । उनले सिरियाली विद्रोही र त्यहाँको सरकारलाई सम्बोधन गर्दै सबै नागरिकको शान्तिपूर्ण रुपमा भेला हुन पाउने अधिकारको सम्मानस्वरुप अपहरित सबैको रिहाइ गर्न आह्वान गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घले सिरियाली विद्रोहीहरूसँग वार्ता भइरहेको बताएको छ । तर सो विद्रोही समूहका एकजना प्रवक्ताले गोलान हाइटबाट सिरियाली सैनिक फिर्ता नहुँदासम्म आफूहरूले अपहरित सैनिकलाई रिहा नगर्ने बताएका छन् ।
फिलिपिन्स सरकारले पनि आफ्ना सैनिकलाई तत्कालै रिहा गर्न माग गरेको छ ।
रासस/एएफपी

