रमझमशनिबार, फाल्गुण २६, २०६९
महिला दिवसमा शाहरुखको अभिनेतृलाई उपहार
भारतीय सञ्चारमाध्महरुसँग कुरा गर्दै शाहरुख खानले अब उनका सबै फिल्मको क्रेडिट रोल्समा अभिनेतृको नाम पहिले आउने बताएका छन् । यसको शुरुवात शाहरुखले आफ्नो नयाँ फिल्म ‘चेन्नई एक्सप्रेस’ बाट शुरु गर्ने भएका छन्, जसमा उनीसँग दीपिका पादुकोण छिन् ।
शाहरुख भन्छन, “मसँग काम गरिरहेका सबैसँग मेरो आग्रह छ, उनीहरु सबैले फिल्ममा अभिनेता भन्दा पहिले अभिनेतृको नाम दिन शुरु गरुन् ।” उनले आफ्नो यो कामले कुनै परिवर्तन आउँछ भन्नेबारे केही अनुमान गर्न नसकिने बताए पनि यो सोच्नयोग्य विषय भएको बताए ।
“महिलाहरु हाम्रो कामका मेरुदण्ड हुन, उनीहरुलाई उचित श्रेय दिइनु पर्छ,” शाहरुखले भने, “म देखावटीरुपमा मात्रै महिलाहरुको विषयमा फिल्म बनाउने छैन ।”
अवार्ड समारोहहरुमा पनि पछाडि
शाहरुख खानले अवार्ड समारोहहरुमा पनि अभिनेतृहरुलाई कम महत्व दिइने गरेकोमा आपत्ति प्रकट गरे । शाहरुखका अनुसार अवार्ड समारोहहरुमा अभिनेताको पुरस्कार अन्तिममा घोषणा गरिन्छ जसले सबैभन्दा बढी ताली पनि पाउँछ । उनले थपे, “अबदेखि किन अभिनेत्रीको पुरस्कारको घोषणा अन्तिममा नगर्ने ?”
त्यस्तै पछिल्लो समय लगातार चार पटक स्क्रीन अवार्ड विजेता अभिनेतृ विद्या बालन भन्छिन, “यही समय हो यस्ता कार्यक्रमहरुमा नारी र उनीहरुको योगदानका बारेमा चर्चा होस र नारित्वको उत्सव मनाइयोस ।”
विद्या वालनको फिल्म चयन र शाहरुख खानका फिल्ममा उनीभन्दा अघि अभिनेतृको नाम देखाइने पहलले फिल्महरुको भीडमा महिलालाई अगाडि ल्याउँछ कि ल्याउँदैन त्यो भने हेर्न बाँकी नै छ ।

