समाचारशनिबार, फाल्गुण २६, २०६९
मुलकमा सैन्यवादको खतराः केसी
सबैजसो राजनीतिक दलहरुभित्रैबाट ठूलो विरोध भइरहेको अवस्थामा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन खोजेर नेताहरुले मुलुकलाई थप जटिलतातर्फ धकेल्न खोजेको नेता केसीले आरोप लगाएका छन् ।
२६ फागुनमा बुटवलमा आयोजित पत्रकार साक्षात्कार कार्यक्रममा नेता केसीले न्यायालयलाई विवादमा तानेर कमजोर पार्न खोजिएको भन्दै प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन भए पनि चुनाव गराउन सक्ने अवस्था नभएको दाबी गरे । उनले भने, “सबैजसो दलहरुमा ठूलो विरोध छ, प्रधानन्यायाधीशले चुनाव गराउन सक्ने छैनन्, यस्तो अवस्थामा न्यायालयलाई विवादमा ल्याउनु भनेको मुलुकलाई सैन्यवादतर्फ उन्मुख गराउनु बाहेक केही होइन ।”
नेता केसीले मधेशकेन्द्रित दलहरुले भनेजस्तै गरी अहिले नागरिकतामा सहमति गर्ने हो भने लाखौं विदेशीहरु नेपाली नागरिक बन्ने र नेपाली मधेशीहरु नै अल्पमतमा पर्ने खतरा रहेको दाबी गरे ।
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने एमाओवादीको प्रस्ताव मुलुकमा स्वतन्त्र रहेका संस्थाहरुलाई कमजोर पार्दै निरंकुश शासन ब्यवस्था लाद्नका लागि भएको आरोप लगाउँदै नेता केसीले प्रधानन्यायाधीशले राजनीति गरेर निकास दिन्छन् भन्ने भ्रममा नपर्न आग्रह गरे ।
