समाचारशनिबार, फाल्गुण २६, २०६९
भारत नेपालमा स्थायित्व चाहन्छः भारतीय नेताहरु
रिपोर्टर्स क्लब नेपालले २६ फागुनमा आयोजना गरेको साक्षात्कारमा भारतीय नेताहरुले नेपालमा विगत पाँच वर्षमा दलहरुवीच सहमति हुन नसकेको र संविधान आउन नसकेकोमा दुख ब्यक्त गर्दै आफूहरुले नेपालमा राजनीतिक स्थायित्व र विकास हेर्न चाहेको बताएका छन् ।
साक्षात्कारमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले नेपालमा राजनीतिक दल वा प्रशासक कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने कुरा नेपालका राजनीतिक दलहरुले निर्णय गर्ने विषय भएको बताए । उनले नेपालको राजनीतिमा भारतको चासो भए पनि आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताए । नेपालमा शान्ति र स्थायीत्व भए भारतमा पनि त्यसको प्रभाव पर्ने भएकोले भारत सधै नेपालमा शान्ति र स्थायीत्वको पक्षमा उभिएको बताउँदै जोलीले नेपालका राजनीतिक दलहरुले विगत पाँच वर्षदेखि सहमति कायम गर्न नसकेकोमा दुख ब्यक्त गरे ।
उनले आजै विहान एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा आफूहरुले नेपालको भूमिबाट भारत विरोधी गतिविधि हुन नहुने बताएको जानकारी दिए ।
जनता दल यूनाईटेडका महासचिव केसी त्यागीले नेपालमा छिटो निर्वाचन गर्न नेपाली जनताले दलहरुलाई दवाव दिनु पर्ने आवश्यकता औल्याउँदै नेपालमा दलहरुवीच छिटो सहमति भएर निर्वाचन हुने विश्वास ब्यक्त गरे । उनले नेपालमा जारी शान्ति प्रक्रिया पूरा नभए दलहरु नेपाली जनताको कोपभाजनको शिकार बन्ने चेतावनी दिए ।
काग्रेस आईका सांसद प्रकास चौधरीले नेपाल भारतवीचको परम्परागत सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले आफूहरु नेपाल आएको भन्दै नेपाल र भारतको सम्बन्ध पछिल्लो समयमा अझै प्रगाढ भएको आफूले पाएको बताए ।
दाहाल र कोइरालासँग भेट
नेपाल भ्रमण रहेको भारतीय नेताहरुले एाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति सुशील कोइरालासँग भेट गरेका छन् ।
दुबै नेताहरुसँग भएको बेग्ला बेग्लै भेटमा भारतीय नेताहरुले नेपालको वर्तमान राजनीतिक परिस्थितिका बारेमा चासो राखेका थिए ।

