समाचारआइतबार, फाल्गुण २७, २०६९
आज महाशिवरात्री तथा सेना दिवस
महाशिवरात्रीका अवसरमा हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्री पर्वको मेला भर्न आज नेपालका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ ।
शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।
यसवर्ष १२ लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान रहेको पशुपति क्षेत्र विकास कोषले गरेको छ ।
सेना दिवस पनि मनाइँदै
नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवसको उपललक्ष्यमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ ।
समारोहमा राष्ट्रपति डा. रामवरण यादवले उत्कृष्ट गणहरुलाई निशान प्रदान गरेका छन् । नेपाली सेनाका विभिन्न टोलीद्वारा मार्चपास, हातहतियार, तोपखानालगायत विकास निर्माणसम्बन्धी गतिविधिबारे कलाकौशल प्रदर्शन भइरहेको छ ।
विसं. २०४७ देखि नेपाली सेनाले महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ ।
