थप समाचारआइतबार, फाल्गुण २७, २०६९
कुम्भमेला सकियो, बाह्र करोडले आफ्नो पाप धोए
कुम्भमेला प्रत्येक १२ वर्षमा इलाहाबादको तीन नदीहरु गंगा, यमुना र मिथकीय सरस्वती नदीहरूको सङ्गममा लाग्ने गर्छ । यस समयमा व्यापक तीर्थयात्री, आध्यात्मवादी तथा विदेशी पर्यटकको यहाँ घुइचो लाग्ने गर्छ । कुम्भ मेलाका आवसरमा संगममा स्नान गरेमा पापबाट मुक्ति पाइने लोक विश्वास छ ।
करिब दुई महिनासम्म चल्ने कुम्भमेला महाशिवरात्रिको दिन अन्त्य हुन्छ ।
मेलाका अधिकारीहरूले अन्तिम दिन पनि साधुहरूले गङ्गा नदीमा स्नान गरी मेलाको अन्त्य गरेको जानकारी दिए । मेलाका प्रमुख मणिप्रसाद मिश्रले सन् २००१ मा छ करोड तीर्थयात्रीले मेला भरेकोमा यस वर्ष १२ करोड तीर्थयात्री आएको जानकारी दिए ।
यस वर्ष मेलाका समयमा इलाहाबादको एक रेलविसौनीमा ३६ तीर्थयात्रुको मृत्युभएको थियो । मिश्रले तीर्थयात्रीका लागि पाँच हजार एकडमा तयार भएको संरचना भत्काउने कार्य आरम्भ भएको जानकारी दिए ।
उनले यहाँ पाँच विद्युतीय केन्द्रबाट हजारौँ सडकबत्तीको व्यवस्था भएको जानकारी दिए । यहाँ अस्थायी प्रहरी केन्द्र, अस्पताल, अग्निनियन्त्रण व्यवस्था, पसल, चमेनागृह तथा ३५ हजार शौचालयको व्यवस्था गरिएको थियो ।
हिन्दू आख्यानअनुसार इलाहाबाद, नासिक, उज्जैन तथा हरिद्वारमा अमृत चुहिएकाले यहाँ कुम्भमेला लाग्ने गर्छ ।
एएफपी


