थप समाचारसोमबार, फाल्गुण २८, २०६९
सामूहिक बलात्कारका मुख्य अभियुक्तद्वारा जेलमै आत्महत्या
गत १६ डिसेम्बर राति आफ्ना केटासाथीसँग घर फर्किरहेकी २३ वर्षीया युवतीलाई चालकसहितका छ जनाले बसभित्रै सामूहिक बलात्कार गरेका थिए । युवतीको उपचारका क्रममा सिंगापुरमा मृत्यु भएको थियो ।
बलात्कारीहरु राजधानी नयाँ दिल्लीस्थित तिहार जेलमा राखिएका छन् र उनीहरुमाथिको कारबाहीका लागि अदालतको सुनुवाई जारी छ । बलात्कारीमध्येका मुख्य अभियुक्त बसका चालक राम सिंहले जेलमा आत्महत्या गरेको २८ फागुन बिहान प्रहरी अधिकारीले जनाएका छन् । रातिसम्म ठिकै रहेको तर आज बिहान आत्महत्या गरेको अवस्थामा पाइएकोे जेलका एकजना वरिष्ठ सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।
अनुसन्धानका क्रममा राम सिंहले पनि आफ्नो गल्ती स्वीकार गरेका थिए । जेलका एकजना अधिकारी सुनिल गुप्ताले भने– “उसले आफूसँगका कपडा सबै एकैठाउँमा पारेर डोरी बनाई त्यसैले पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेको हो ।”
अहिले प्रहरीले आत्महत्याका बारेमा अनुसन्धान शुरु गरेको छ । ३० वर्षीय राम सिंह बसका नियमित चालक पनि हुन् । यो घटनालाई सुरक्षा कमजोरीका रुपमा भारतीय सञ्चारमाध्यमहरुले लिएका छन् ।
बलात्कारका अरु आरोपी भने प्रहरी हिरासतमै छन् । बलात्कारीमध्येको एकजना १७ वर्षको मात्र रहेकोले भारतीय कानुनबमोजिम नाबालकको रुपमा बढीमा तीन वर्षको जेल सजाय हुनसक्ने बताइएको छ । अन्य अरोपीहरुलाई पनि के कस्तो सजायको फैसाला हुदैछ भन्ने बारेमा भने केही आइसकेको छैन ।

