समाचारबुधबार, फाल्गुण ३०, २०६९
संविधान संशोधनको मस्यौदा राष्ट्रपतिकहाँ पठाइयो
सहमतिलाई अन्तिम रुप दिन प्रमुख दलहरुबीच आज पनि छलफल भइरहेको छ । चारशक्तिका नेताहरुबीच भएको सहमतिको मस्यौदालाई दलहरुले राष्ट्रपति कार्यालय शीतल निवासमा पठाइसकेका छन् । सेना समायोजनको कार्यालय नयाँबानेश्वरमा भइरहेको चार शक्तिका शीर्ष नेताहरुको बैठकमा राष्ट्रपतिको तर्फबाट आएको सुझावलाई समेत आधार बनाएर सहमतिलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् ।
प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठनका लागि संविधान संशोधनको मस्यौदा (बाधा अडकाउ फुकाउने प्रावधान) लाई दलहरुले अन्तिम रुप दिइसकेका छन् भने सहमतिको अर्को मस्यौदामा केही विषय बाँकी राखेर तयार गरेका छन् ।
२५ बुँदे बाधा अड्काउ फुकाउने प्रावधानहरु र ११ बुँदे सहमतिलाई आज अन्तिम रुप दिएर अन्तरिम चुनावी सरकार गठन प्रक्रियामा जाने नेताहरुले बताएका छन् । दलहरुबीच शान्ति प्रक्रिया अन्र्तगत सेनाको दर्जा मिलानका विषयमा अझै कुरा मिलिसकेको छैन ।
एमाले नेता भीम रावलले सेनाको दर्जा मिलानका विषयमा सहमति भए आजै सरकार गठनको प्रक्रिया अघि बढ्ने जानकारी दिए । रावलका अनुसार अहिले बिहानको बैठकमा गर्ने सहमति अनुसार प्रधानन्यायाधीश रेग्मीसँग थप परामर्श गर्ने दलहरुको तयारी छ ।
