समाचारबिहीबार, चैत्र १, २०६९
रेग्मीद्वारा सपथ, तीन सदस्यीय मन्त्रीमण्डल
रेग्मीलाई शीतलनिवासमा आयोजित एक समारोहमा १ चैत विहान राष्ट्रपति रामवरण यादवले सपथग्रहण गराएका हुन् ।
३० फागुन राति एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चाका शीर्ष नेताहरुले रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्ने त्यसका लागि आवश्यक संविधान संशोधन गर्ने सहमति भए अनुरुप रेग्मी मुलुकको प्रमुख कार्यकारीमा नियुक्त भएका हुन् ।
रेग्मीले ३० फागुन राति नै सपथ लिने कार्यक्रम तय गरिएको भए पनि दलहरुको सहमतिलाई मन्त्रिपरिषदले अनुमोदन गरी अध्यादेश राष्ट्रपति समक्ष पठाउँदा समय लागेकोेले उनले १ चैत विहान सपथ ग्रहण गरेका हुन् । रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्ष भनिए पनि उनको कार्य भने प्रधानमन्त्रीकै हुने छ ।
रेग्मी आफूले सपथ ग्रहण गरे लगत्तै मन्त्रिपरिषदका अन्य दुई जना सदस्य पूर्व मुख्य सचिव माधवप्रसाद घिमिरे र पूर्व सचिव हरिप्रसाद न्यौपानेलाई पनि सपथग्रहण गराएका छन् ।
घिमिरेलाई गृह र परराष्ट्र तगा न्यौपानेलाई कानून, न्याय एवम् श्रम मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद् अध्यक्षसहित ११ सदस्यीय हुने र सदस्यहरु सबै अवकाश प्राप्त विशिष्ट श्रेणीका निजामति कर्मचारी रहने सहमति भएको छ ।
पधानन्यायाधीशले शीतलनिवासमा सपथ ग्रहण गरिरहँदा त्यसको विरोधमा नेकपा–माओवादीको नेतृत्वमा २२ दलले राष्ट्रपति कार्यालय बाहिर नाराबाजी र प्रदर्शन भएको थियो ।
सपथ ग्रहण कार्यक्रमपछि रेग्मी प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेर कार्यभार सम्हालेका छन् ।
