समाचारशुक्रबार, चैत्र २, २०६९
अर्थतन्त्रमा संकुचन, चुनावी सरकारलाई चुनौती
रमेश कुमार
चालु आर्थिक वर्षको पहिलो सात महिनाको तथ्यांकले अर्थतन्त्रका प्रमुख परिसूचकहरु नकारात्मक भएको देखाउँछ । नेपाल राष्ट्र बैंकका अनुसार, देशको शोधनान्तर वचत न्यून विन्दूमा झरेको छ भने चालु खाता घाटामा पुगेको छ ।
खर्च न्यून भएर सरकारी खातामा रु. ३९ अर्ब १४ करोड वचतमा हुँदा पनि मूल्यवृद्धि दोहोरो अंकमा छ । ब्यापार घाटा त धानिनसक्नु अवस्थाले बढेको छ भने अर्थतन्त्रको खम्बा मानिने रेमिट्यान्सको वृद्धि पनि ओरालो लागेको छ ।
परिसूचकहरु गम्भीर स्थितिले नकारात्मक भएपछि प्रधानन्यायाधीस नेतृत्वको चुनावी सरकारका लागि आउने दिन चुनौतिपूर्ण हुने छन् ।
नेपाल राष्ट्र बैंकले शुक्रबार प्रकाशित गरेको तथ्यांकअनुसार, माघमसान्तसम्ममा मूल्यवृद्धि १० दशमलव १ प्रतिशत रहेको देखाएको छ । खाद्य तथा पेय पदार्थको मूल्य १० दशमलव ७ प्रतिशतले बढेका कारण उपभोक्ताको भान्छा सोझै प्रभावित भएको देखिएको छ । माघसम्ममा गैर खाद्य तथा सेवा समूहको सूचकांक पनि ९ दशमलव ६ प्रतिशतले बढेको छ ।
मौद्रिक नीतिको संसोधनमार्फत राष्ट्र बैंकले मूल्यवृद्धि ९ दशमलव ५ प्रतिशतमा सीमित राख्ने बताएको थियो ।
तरकारीको मूल्यमा १६ दशमलव २, माछामासुमा १४ दशमलव ४, घिउ तेलमा १३ दशमलव ७, चिनी र मिठाइमा १२ दशमलव ५ र होटल र रेस्टुरेन्टको खानाको मूल्य १२ दशमलव १ प्रतिशतले बढेको छ । गैर खाद्य समूहअन्तर्गत घरायसी उपकरण र फर्निसिङको मूल्य १२ दशमलव ९, शिक्षाको १२ दशमलव ५, कपडा र जुत्ताचप्पलको ११ दशमलव ५ प्रतिशत मूल्य बढेको छ ।
आर्थिक वर्षको पहिलो ७ महिनामा देशको ब्यापार घाटा २७ दशमलव ७ प्रतिशतले बढेर रु. २ खर्ब ७१ ऋर्ब २२ करोड पुगेको छ । यो अवधिमा नेपालले रु. ४४ अर्ब ९८ करोडको मात्र वस्तु निर्यात गरेको छ भने रु. ३ खर्ब १६ अर्ब २१ करोडको वस्तु आयात गरेको छ । पेट्रोलियम पदार्थ, सुन, तयारी कपडा, मोटर र यसका पार्टस्, चामल, सिमेण्ट, एमएस बिलेटजस्ता वस्तुको आयात उच्च भएपछि ब्यापार घाटा चुलिएको हो ।
माघसम्ममा शोधनान्तर (देश भित्रने बाहिरिने रकमबीचको अन्तर) वचत पनि १ अर्ब ५९ करोडमा झरेको छ । अघिल्लो वर्ष यो वचत ७६ अर्ब २८ करोड थियो । चालु खाता पनि १ अर्ब ७१ करोडले घाटामा गएको छ । रेमिट्यान्स घटेको र बस्तु आयात बढेकाले चालु खाता घाटामा गएको हो । गत आर्थिक वर्षको यही अवधिमा चालु खाता रु. ३४ अर्ब ६७ करोडले वचतमा थियो । शोधनान्तर वचत न्यून विन्दूमा आउनु र चालु खाता नकारात्मक हुनु अर्थतन्त्रका लागि प्रमुख चुनौति हुन् ।
अर्थतन्त्रको सञ्जिवनी मानिने रेमिट्यान्सको वृद्धिदर पनि घटेको छ । विदेशिने कामदार बढिरहेपनि रेमिट्यान्स १९ दशलमव ६ प्रतिशत मात्रले बढेर रु. २ खर्ब २५ अर्ब ६ करोड पुगेको छ । गत वर्षको यही अवधिमा रेमिट्यान्स ३५ दशमलव ५ प्रतिशतले बढेको थियो । विदेशी विनिमयको सञ्चिती पनि गत असारको तुलनामा ० दशमलव ४ प्रतिशतले खुम्चिएको छ । गत असारमा रु. ४ खर्ब ३९ अर्ब ४६ करोड रहेको विदेशी मुद्राको सञ्चिती माघमा ४ खर्ब ३७ अर्ब ८५ करोडमा झरेको छ ।
