समाचारशुक्रबार, चैत्र २, २०६९

ढुंगेलविरुद्ध आवाज नउठाउन एमाओवादीको चेतावनी

हिमालखबर

बालकृष्ण ढु‌गेल गत फागुनमा ओखलढुंगामा आयोजित एक कार्यक्रममा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईसँगै ।

एनेकपा माओवादीका नेताद्वय देवेन्द्र पौडेल र लिलबहादुर थापाद्वारा २ चैतमा जारी विज्ञप्तिमा ‘अकुपाई बालुवाटार अभियान’ लगायत मानवअधिकारवादी संघ संस्थाले ढुंगेललाई अपराधी सावित गर्न खोजेको भन्दै उक्त कार्यलाई ‘नैतिकहिन र घृणित’ क्रियाकलाप भनेका छन् ।

असार २०५५ मा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा सर्वोच्च अदालतले १९ पुस २०६६ मा बालकृष्ण ढुंगेललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

पौडेल र थापाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “मुलुकमा बन्दै गएको आमसहमति, संविधानसभाको निर्वाचनको वातावरणलाई समेत उल्टाउने बदनियतपूर्ण यो कसरतले वास्तवमा देशलाई अराजकतातर्फ लैजाने बाहेक कसैलाई फाइदा पुग्दैन ।”

स्व. उज्जनकी दिदी सावित्रीका अनुसार कथित मथिल्लो जातकी केटीसँग बिहे गरेका उज्जनको बिवाहलाई नरुचाउने केटीका आफन्तले आफ्ना साथी ढुंगेललाई प्रयोग गरी श्रेष्ठको हत्या गराएका थिए । ढुंगेलले केही समय नेपाली सेनामा पनि काम गरेका थिए । सेनाको अभिलेखमा उनी अझै पनि ‘भगौडा’ हुन् ।

यता एमाओवादी नेताद्वयले जारी गरेको विज्ञप्तिमा भने ढुंगेलमाथि कारवाहीको मागलाई “जनताको न्याय, समानता, संघीयता र जनताको संविधान निर्माणको अधिकारलाई कुल्चने धृष्टता,” भनिएको छ ।

ढुंगेलविरुद्ध किटानी जाहेरी दिने उज्जन श्रेष्ठका दाजु गणेश श्रेष्ठ पनि मारिइसकेका छन् । ढुंगेल पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई निकट मानिन्छन् र सर्वोच्चको आदेशलाई लत्याउँदै उनी स्वतन्त्रतापूर्वक सभा समारोहहरुमा भाग लिइरहेका भेटिन्छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>