समाचारशनिबार, चैत्र ३, २०६९

राजनीतिक संयन्त्र गठनको तयारी

हिमालखबर

प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वको सरकारलाई आइपर्ने राजनीतिक अप्ठ्याराहरुको समाधान खोज्ने, निर्वाचनको वातावरण बनाउन अन्य दलहरुसँग छलफल गर्ने र आइलाग्ने संवैधानिक समस्या निराकरणका लागि चार राजनीतिक दलहरुले राजनीतिक संयन्त्र गठनको तयारी शुरु गरेका छन् ।

यसअघि दलहरुले यस्तो संयन्त्रको ब्यवस्था संविधानमै गरिने बताए पनि प्रधानन्यायाधीश खिलराज रेग्मीले संयन्त्रको ब्यवस्था संविधानमा नगरी अनौपचारिक रुपमा गठन गर्न सुझाव दिए अनुसार संयन्त्र गठन हुन लागेको हो ।

संयन्त्र गठनका लागि दलहरुबीच छलफल छिटै शुरु हुने नेपाली कांग्रेस सभापति सुशील कोइरालाले बताएका छन् । उनका अनुसार एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाको बैठकले संयन्त्र गठनका साथै निर्वाचनको मिति तय गर्ने र संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्तिका लागि सरकारलाई परामर्श पनि दिनेछ ।

एमाले नेता भीम रावलका अनुसार समितिमा चार राजनीतिक शक्तिका शीर्ष नेताहरु सहभागी हुनेछन् । अन्य दलहरुको भने संयन्त्रमा प्रतिनिधित्व हुने छैन । त्यसैगरी संयन्त्रको कार्यविधि र नेतृत्वका बारेमा पनि टुंगो लागेको छैन ।

संयन्त्रको नेतृत्व विघटित संविधानसभामा ठूलो दलको अध्यक्षका हैसियतले पुष्पकमल दाहालले गर्ने वा पालै पालो शीर्ष नेताहरुले गर्ने भन्ने विषयमा पनि बैठकले नै निर्णय गर्ने रावलले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>