समाचारशनिबार, चैत्र ३, २०६९

उच्चस्तरीय राजनीतिक समिति गठन

हिमालखबर

३ चैतमा सेना समायोजन विशेष समितिको सचिवालय नयाँवानेश्वरमा बसेको एमाओावदी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले उच्चस्तरीय राजनीतिक समिति गठन गरेको छ ।

उक्त समितिमा चार पक्षका प्रमुखसहित थप एक/एकजना प्रतिनिधि रहनेछन् ।

एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चा बीच ३० फागुनमा भएको राजनीतिक सहमतिका आधारमा यो समिति गठन गरिएको नेताहरुले बताएका छन् ।

उच्चस्तरीय राजनीतिक समितिको संयोजकका रुपमा क्रमशः एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाका प्रमुखले पालैपालो एक/एक महिना कार्य गर्नेछन् ।

संयोजकले नै बैठकको अध्यक्षता गर्ने र सर्वसम्मतिका रुपमा बैठकमा निर्णय गरिने चारै पक्षका प्रमुखहरुद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

तत्काल चार राजनीतिक दलका तर्फबाट उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रतिनिधित्व रहने व्यवस्था गरिएको र अरु सबै राजनीतिक दलसँग वार्ता गरी सहमति जुटाएपछि अन्य आवश्यक निर्णय गरिने बैठकमा सहभागी एमालेका उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए । उच्चस्तरीय राजनीतिक समितिको सचिवालय विशेष समितिको सचिवालय भवन वानेश्वरमा राख्न सरकारसमक्ष आग्रह गरिनेसमेत गौतमले बताए ।

विभिन्न संवैधानिक  रिक्त पदहरु पूर्ति गर्नका लागि समितिले सिफारिस गर्ने पनि बैठकमा  सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै निर्वाचनको पक्षमा वातावरण सिर्जना गर्न सबै राजनीतिक दल तथा सरोकारवालासँग वार्ता गर्ने उच्चस्तरीय राजनीतिक समितिको बैठकले निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>