समाचारमंगलबार, चैत्र ६, २०६९
माओवादी कार्यकर्ताद्वारा एनसेलमा तोडफोड
मोहन वैद्य पक्षीय अखिल नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल सञ्चार छापाखाना मजदुर युनियनका कार्यकर्ताहरुले ६ चैत दिउँसो एनसेल कार्यालयमा तोडफोड गरी क्षति पुर्याएका छन् ।
काठमाडौंको नयाँ बानेश्वरस्थित कृष्ण टावरमा रहेको एनसेल कार्यालयमा करिब तीन दर्जनको संख्यामा रहेका माओवादी कार्यकर्ताहरुले ढुंगा हान्दा भवनको पाँचौ तल्ला सम्मका सिसाहरु फुटेका छन् । उनीहरुले कार्यालयभित्रका कम्प्युटर साथै अन्य प्राविधिक यन्त्रहरु समेत तोडफोड गरेका छन् । त्यसैगरी कार्यालयको गाडीमा समेत क्षति पुगेको छ ।
कार्यालय अगाडि माओवादी कार्यकर्ताले प्रदर्शन शुरु गरेपछि आएको प्रहरीले लाठी प्रहारबाट केही कार्यकर्ताहरु घाइते भएका छन् । अहिले त्यसक्षेत्रमा ब्यापक प्रहरी परिचालन गरिएको छ ।
प्रहरीको हस्तक्षेपबाट आक्रोशित भएका कार्यकर्ताले तोडफोड गरेको मजदुर नेता जन्मदेव जैसीले बताएका छन् । एनसेलले ८७ जना कर्मचारीलाई हटाएको भन्दै महासंघले आन्दोलन गर्दै आएको छ । एनसेलले भने कुनै पनि कर्मचारीलाई नहटाएको बताएको छ ।
