समाचारमंगलबार, चैत्र ६, २०६९
सरकारको प्रवक्तामा पौडेल
६ चैतमा बसेको मन्त्रिपरिषदको बैठकले सूचना तथा सञ्चारमन्त्री माधव पौडेललाई प्रवक्ता चयन गरेको छ । बैठकपछि नवनियुक्त प्रवक्ता पौडेलले मन्त्रीहरूले दोहोरो सुविधा लिन नपाउने निर्णय गरेको जानकारी दिए ।
त्यस्तै मन्त्रीपरिषद्को निर्णय र मन्त्रालयले गरेका कामहरु बारेको जानकारी २४ घण्टा भित्रै वेबसाइटमा राखिने निर्णय बैठकले गरेको छ ।
प्रवक्ता पौडेलले संवैधानिक परिषदलाई छिटै पूर्णता दिएर चुनावको मिति घोषणा हुने बताए ।
मन्त्रिपरिषद्ले सरकारी कर्मचारीहरूले काजको नाममा राजधानीमा बस्दै आएकोमा त्यसलाई निरुत्साहित गर्न जुन क्षेत्रमा दरबन्दी रहेको हो सोही क्षेत्रमा नै पठाउने पनि निर्णय गरेको छ ।
यस्तै आजको बैठकले संविधानसभाको निर्वाचन सम्पन्न गर्न सरकारका तर्फबाट सबै प्रकारका कामहरूलाई अगाडि बढाउने र सबै खालका साधन–स्रोतलाई परिचालन गर्ने सम्बन्धमा परिषद्का अध्यक्ष खिलराज रेग्मीले मन्त्रीहरूलाई विशेष निर्देशन दिनुभएको प्रवक्ता पौडेलले जानकारी दिए ।
बैठकले कृषि सेवा, इन्जिनियरिङ सेवा, प्रशासन सेवाका १५ जना उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ ।
