थप समाचारबुधबार, चैत्र ७, २०६९
इराक युद्धको वर्णन गर्छन, निर्दोष केटीका घाउहरु
केविन कोनोली
उसो त यो कथा इराकी युवती मारवाको मात्रै होइन, दश वर्षअघि इराकमा भएको अमेरिकी–बेलायती आक्रमणको पनि हो ।
मारवा शिमारीलाई अहिले सम्झना पनि छैन कहिले उनीबाट आफ्नो बालापन खोसियो । उनले आफ्नो दाहिने खुट्टा घुंडामाथिबाट काटिएको पहिलो पटक कहिले थाहा पाइन्, त्यसको पनि हेक्का छैन ।
युद्धको सन्त्रासमा बाँचिरहेको इराकमा १० वर्ष अगाडि जब अमेरिकी सेना बगदाद् तर्फ कूच गर्दै थियो त्यसबेलाको कुरा हो । त्यस दिन बगदादको आकाशमा कालो बादलको छाएको थियो ।
विष्फोटका ठूला ठूला आवाजका बीच भयातुर शहरीहरुमा जीवन बचाउने प्रयासमा जुटेका थिए । चारैतर्फ भइरहेको बम वर्षा र विष्फोटका आवाजले विचलित, बगदादको बाह्य बस्तीको एउटा अस्थायी घरमा बसिरहेकी मारवालाई घरबाट बाहिर निक्लनु सुरक्षाका लागि उपयुक्त लाग्यो ।
१२ वर्षकी मारवा आफ्नी बैनी अदरासँगै घरबाट बाहिर दौडिइन् । सुरक्षाको आशमा दौडिरहेका दुई बैनी लगातार भइरहेको बम वर्षा, लडाकु विमानहरुको डरलाग्दो आवाजबाट काँप्दै थिए । त्यसैबेला एउटा ठूलो विष्फोट भयो । अदराको ज्यान गयो, मारवा फेरि कहिल्यै पनि दौडन नसक्ने भइन् ।
जुन दिन मारवाको जिन्दगी सँधैका लागि कुँजो भयो त्यसै दिन बगदादको आकासमा माथि कतै अमेरिकी वायु सेनाकी क्याप्टेन किम क्याम्पबेल पनि आफ्नो जीवनकै सबैभन्दा कठिन युद्ध लड्दै थिइन् । यद्यपी क्याप्टेन किमको असहज अवस्थासँग बग्दादको जमिनमा भइरहेको अमेरिकी सैनिक गतिविधिको कुनै सरोकार थिएन ।
एकतर्फ बगदादको पश्चिममा अवस्थित एक सडकमा अमेरिकी सेनाले आफ्नो ताकतको प्रदर्शन गरिरहेको थियो भने, मरिन टोली सद्दाम सिटी हुँदै बगदादको पूर्वतर्फको ब्यवसायिक इलाकातर्फ बढिरहेको थियो ।
बगदादको सूराक्षामा संलग्न एक ब्यक्तिले अमेरिकी ताकतको अनुमान गर्दै भनेका थिए, “दियाला नदीमा ट्यांकहरु तैरिंदै गरेको देखेपछि हामीले यो युद्ध हारेको बुझिसकेका थियौं ।”
‘ए १० थण्डरबोल्ट लडाकु विमान’
त्यस दिन बगदादको आकाशमा ‘ए १० थण्डरबोल्ट लडाकु विमान’ उडाइरहेकी क्यम्पबेलको निशानमा मारवाको घर थिएन बरु बगदादको मुटु भनिने गरेको सद्दाम हुसेनको महल थियो ।
सद्दाम सिटीबाट इराकी सेनाले गरेको जवाफी कार्वाहीमा उनको लडाकु विमान क्षतिग्रस्त भएको थियो र उनी आफै घाइते भएकी थिइन् । घाइते हुँदा हुँदै पनि उनी ३०० माइल टाढा रहेको आफ्नो एअरबेस सम्म फर्किन सफल भइन् । युद्धका आ–आफ्नै नियम हुन्छन् र कहिले काहीं त कुनै नियम नै हुँदैन । युद्ध मारवा र क्यम्पबेल दुबैले देखे तर, मारवा शिमरी क्यम्पटेन किम क्याम्पबेल जस्तो भाग्मानी भइनन् ।
इराकको यो अवस्थालाई अमेरिकी सैन्य अधिपत्यलाई बलियो पार्ने कोशिसका रुपमा हेर्ने गरिएको छ ।
मारवाको नयाँ लडाई
मारवा र उनी बहिनी बम विष्फोट पछि बेहोस भए । जब होस आयो त्यसबेला मारवा अस्पतालमा थिइन् । उनी भन्छिन, “साँच्चै मैले केही बुझ्न सकेकी थिइन, म असाध्यै कष्टपूर्ण अवस्थामा थिए र दुखाइले कराउँदै थिएँ । म केही सोच्न सक्ने अवस्थामा थिइन, कैयौ दिन मैले रोएरै विताएँ ।”
कुनै बेला स्कुलमा असाध्यै चुलबुले मारवाका लागि यो नयाँ लडाईको शुरुवात थियो । अस्पताल–घर–अस्पताल, उनको जिन्दगी यही घेरोमा खुम्चिएर रह्यो ।
इराकमा मारिएका आम मानिसका बारेमा कुनै आधिकारिक तथ्याङक उपलब्ध छैन तर, एक अनुमानका अनुसार जुन हप्ता मारावा घाइते भएकी थिइन्, त्यसबेला दुई हजारभन्दा बढी इराकी मारिएका थिए ।
सन् २००३ पछि सबा कुसौर
मारवा बग्दादको बाहिरी इलाकामा रहेको सबा कुसौर गाउँमा बस्थिन् । त्यहाँ सन् २०१३ मा भएको बम वर्षा पछि शायदै कुनै गाउँवासीले अमेरिकीलाई देखेको होला ।
जब केही महिनापछि त्यहाँ अमेरिकी सेना पुग्यो त्यसबेला गाउँका मानिसहरु आशंकित भए । सैनिकहरुले मारवा शिमरीको घरमा तलाशी गरे तर केही फेला परेन । सेना आएपछि मारवा असाध्यै डराएकी थिइन् । उनले आफ्नी आमा पनि डरले घर बाहिर दौडिएको देखिन् ।
विगतको त्यो पीडादायी क्षणलाई सम्झँदै मारवा भन्छिन, “आफ्नी आमालाई डराएको देख्नु कुनै बच्चाका लागि सबैभन्दा डरलाग्दो क्षण हुन्छ ।”
मारवाको अवस्था
अल सद्र अस्पतालमा मारवाका लागि निराशा, दुख र अँध्यारो भन्दा अरु केही थिएन ।
इराकमा अमेरिकी पुग्नुभन्दा दुई वर्ष पहिले नै उनका पिताको निधन भइसकेको थियो र आमा डायबिटीजकी रोगी थिइन् । आमाको विग्रदो स्वास्थ्यका बीच मारवाका भाइ बैनी धेरै साना थिए जसबाट कुनै समझदारीको आशा राख्न सकिंदैनथ्यो । यस्तो अवस्थामा एक्ली मारवालाई सम्झाईबुझाई गर्ने पनि कोही थिएन ।
तर, अचानक यी दुखका दिनहरुमा युरोपका राहत संस्थाहरुले उपचारका लागि बाहिर जानुपर्ने अवस्थाका विरामीहरुलाई मद्दत गर्ने भए ।
अमेरिकी विदेश नीतिका विरोधी र लामो समयसम्म जर्मनीमा सभासद रहेका जर्गन तोडेनहोफरले मारवालाई मद्दत गर्ने भए । उनले सन् २००४ मा मारवा र उनकी आमालाई जर्मनी लगेर उपचार गराए ।
मारवाका बारेमा जर्गन भन्छन, “मारवा यो युद्धको प्रतिक बनेकी छन् । जसले यो युद्ध शुरु गरे उनका लागि भलै यो सक्किएको होस तर मारवाको युद्ध जारी रहने छ । ”
तोडेनहोफरले शिमरी परिवारका लागि एउटा नयाँ घर किनिदिए र पसल खोल्न समेत मद्दत गरे । तर, मर्नुभन्दा केही अघि मारवाकी आमाले आफ्नो पुरानो घर मर्मत गर्न नयाँ घर बेचिदिइन् ।
पहिले जर्मनी र पछि अमेरिकाका डाक्टरहरुको प्रयास पछि मारवाको स्वास्थ्यमा सुधार आयो ।
आधुनिक समाजमा कुनै पनि केटी आफ्नो खुट्टामा उभिनु राम्रो कुरा हो तर मारवाको बस्ती सबा कुसौरको रुढीवादी शिया समाजले यस्लाई राम्रो मानेको छैन ।
‘बुश र ब्लेयरले मारवाको खुट्टा फिर्ता गर्न सक्छन ?’
इराक युद्धमा तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुश र बेलायती प्रधानमन्त्री टोनी ब्लेयरको भूमिकाको तोडेनहोफर तिखो आलोचना गर्छन् ।
तोडेनहोफर भन्छन, “उनीहरु अब आरामको जिन्दगी विताइरहेका छन् । बुश पेन्टिङ्ग गर्छन, किताब लेखिरहेका छन् । ब्लेयर मध्यपूर्वमा शान्ति दूतको भूमिका निर्वाह गर्दैछन् । अनी यसैबेला मारवालाई हेर्दा लाग्छ उसका लागि यो अन्त्यहिन सिलसिला हो । तपाइँ त्यो सानी बच्चीलाई उनको खुट्टा फिर्ता गर्न सक्नुहुन्न । उसलाई कसैले अपनाउँदैन, उसले आफ्नो घर बसाउन सक्ने छैन । यो अपराध हो । ”
बीबीसी



