थप समाचारबिहीबार, चैत्र ८, २०६९
हतियारको होडबाजी, भारत एक नम्बर आयातकर्ता
धेरै मानिसहरु चीनले नै हतियार उत्पादन र खरिदमा समेत रेकर्ड राख्न खोजेको बताए पनि भारत यतिबेला हतियार किन्नेमा संसारमै सबैभन्दा अगाडि देखिएको छ ।
चीन भने संसारको पाँचौं हतियार निर्यातकर्ता बनेको छ । यो भन्दा पहिले पाँचौ स्थानमा रहेको बेलायत अहिले हतियार बेच्नेको सूचीमा तल देखिएको छ । चीनबाट पाकिस्तानले अत्यधिक मात्रामा हतियार किनेपछि चीन पाँचौं स्थानमा पुगेको हो ।
स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युट (सिपरी) को रिपोर्टका आधारमा यो कुरा बाहिर आएको हो ।
सन् २००८ देखि २०१२ को बीचमा अमेरिका, रुस, जर्मनी, फ्रांस र चीन संसारभर परम्परागत हतियार बेच्ने सबैभन्दा ठूला पाँच देश थिए ।
विश्वभरीको कुल हतियार बिक्रीमा अमेरिकाको ३० प्रतिशत र रुसको २६ प्रतिशत सहभागिताका अगाडी चीनको पाँच प्रतिशतको सहभागिता निक्कै कम हो ।
सिपरीको प्रतिवेदनका अनुसार आर्थिक मन्दीसँग जुधिरहेका युरोपीयन देशहरुले हतियार किन्न कम गरेपछि यो सूचीमा यतिधेरै फेरवदल आएको हो । साथसाथै एसियाका देशहरुमा हतियार किन्ने क्रममा होड नै चलेको छ, खास गरी भारत र पाकिस्तानमा । विश्वभरको हतियारको खरिद ब्यवहार हेर्दा एसियामै मात्र यो ४७ प्रतिशत छ ।
विश्वभरमा सबैभन्दा बढी हतियार आयात गर्ने देशहरुमा भारत, चीन, पाकिस्तान, दक्षिण कोरिया र सिंगापुर छन् ।
यस प्रतिव्दनका अनुसार भारतले करिब १६ प्रतिशत हतियार आयात गर्छ । त्यसैगरी चीन ६ प्रतिशत र सिंगापुर करिब पाँच प्रतिशत हतियार आयात गर्नेहरुमा छन् ।
प्रतिवेदनमा दिइएको तथ्यांक अनुसार चीनको तुलनामा भारतले धेरै हतियार आयात गर्छ । भारतले सन् २००५ देखि २००७ का बीचमा आयात गरेकोभन्दा ५९ प्रतिशत बढी हतियार २००८ देखि २०१२ को बीचमा आयात गरेको छ ।
प्रतिवेदनमा भनिएको छ, २००८ देखि २०१२ का बीचमा भारतले रुसबाट १०० भन्दा बढी लडाकु विमान, तीन अर्ली वार्निङ् एयरक्राफ्ट, परमाणु पनडुब्बी र अमेरिकाबाट ८ वटा सबमरीन एयरक्राफ्ट आयात गरेको छ ।
यही प्रतिवेदनका अनुसार सन् २००३ देखि २००७ बीचको तुलनामा २००८ देखि २०१२ का बीचमा चीनको हतियार निर्यात १७ प्रतिशतले वृद्धि भएको छ ।
चीनको कुल हतियार निर्यात्को ५५ प्रतिशत हतियार केबल पाकिस्तानमा मात्रै हुने गरेको छ ।
