समाचारशुक्रबार, चैत्र ९, २०६९
पोखरामा पत्रकारहरुको भेला
दुई दिनसम्म चल्ने साधारणसभामा सहभागी हुन देशभरबाट महासंघका प्रतिनिधि (सभासद) हरु पोखरामा भेला भएका छन् । साधारणसभामा देशभरबाट १ हजार पत्रकारहरु सहभागी हुने नेपाल पत्रकार महासंघका महासचिव ओम शर्माले जानकारी दिए ।
पोखरा सभागृहमा दिउँसो ३ बजेपछि हुने साधारणसभाको सर्वाेच्च अदालतका कार्यवाहक प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले उद्घाटन गर्ने कार्यक्रम छ । साधारणसभामा नेपालमा प्रेस तथा अभिव्यक्ति तथा स्वतन्त्रताको अवस्था, श्रमजिवी पत्रकारहरुको अवस्थाका बारेमा छलफल गरिने महासंघका अध्यक्ष शिव गाउँलेले बताए ।
साधारणसभामा पत्रकारहरुको सेवा सुविधा र पारिश्रमिकका बारेमा देखिएको समस्याका बारेमा पनि छलफल गरिनेछ । महासंघको केन्द्रीय साधारणसभा पोखरामा गराउन पाउनु गौरवको बिषय भएको पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रीबीनोद प्रतिकले बताएका छन् ।
