समाचारशनिबार, चैत्र १०, २०६९
आफन्त गुमाएकाहरुको पीडा
प्रधानमन्त्री निवास बालुवाटार नजिकै रहेको राष्ट्र ब्याङ्कको पूर्वतर्फको सडक पेटीमा दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म करिब ५० जना मानिस जम्मा हुन्छन् र दण्डहिनता अन्त्यको माग गर्छन् ।
माओवादीबाट हत्या गरिएका उज्जनकुमार श्रेष्ठ, अध्यागमन र सुरक्षा कर्मचारीबाट बलात्कृत सीता राई, सेनाद्वारा हत्या गरिएकी मैना सुनुवार, अपहरणमा परेर बेपत्ता भएकी छोरी मैयाँ महर्जन लगायतका आफन्तहरु न्यायको खोजीमा तीन महिनादेखि यसरी नै त्यहाँ भेला भइरहेका छन् । १३ पुसदेखि जारी यो आन्दोलनमा केही युवाहरुले पनि निरन्तर साथ दिंदै आएका छन् । उनीहरुले त्यहाँ प्लेकार्ड देखाउँछन्, नारा लगाउँछन र पीडितले न्याय पाउनु पर्ने माग गर्छन् ।
यो लगातारको प्रदर्शनलाई ‘अकुपाई बालुवाटर’, ‘सत्याग्रह’ जस्ता नामहरु दिइएको छ ।
सबैका आ–आफ्नै पीडा र गुनासाहरु छन् तर, सबैले खोजेको एउटै कुरा हो न्याय र दण्डहिनताको अन्त्य ।
देशमा लोकतन्त्र छैन
सत्याग्रहको ८० औं दिनमा सामाखुशीका विवेक केसी बालुवाटार पुग्नुअघि एकहुल माओवादी कार्यकर्ता आएर उनीहरु उभिने त्यो सडक पेटी कब्जा गरिसकेका थिए । ‘अकुपाई बालुवाटर’ ले झुण्ड्याएका फ्लेक्स ब्यानर, केही पर्चा र पोष्टरहरु एमाओवादी कार्यकर्ताहरुले च्यातचुत पारे र जलाए । १० चैतमा हिमालखबरसँग कुरा गर्दै केसीले भने, “देशको ठूलो भन्ने दलले शान्तिपूर्ण प्रदर्शन गरिरहेकाहरु प्रति देखाएको यो बर्बर ब्यवहारले यहाँ लोकतन्त्र छैन भन्ने त्यसैबेला फेरी मैले स्पष्ट अनुभव गरें ।”
२५ वर्षे विवेक केसी कार्यालय जानुअघि दैनिक त्यहाँ आएर धर्ना दिन्छन् । उनले भने, “हाम्रो यो सत्याग्रहलाई प्रचण्डले सडक नाच भनेका छन, हाम्रोे आवाज सुन्न नसक्नेले नाच चाहीं देखेछन् ।”
बालुवाटारकै २३ वर्षे युवती ‘दण्डहिनता अन्त्य गर’ भन्दै कराउँदै थिइन् । उनले भनिन, “निरन्तरको यो धर्नाले पक्कै पनि राज्यका निकायमा केही दबाव त परेकै हुनुपर्छ । जबसम्म महिला हिंसाविरोधी कडा कानूनको ब्यवस्था हुँदैन र फास्ट ट्रयाक अदालत बन्दैन तबसम्म म यहाँ आएर यसरी नै नारा लगाइरहने छु,”
उज्जन श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले आफ्ना भाइका हत्याराले सजाय नपाउँदासम्म आफू धर्नामा आइरहने बताइन् । “उतीबेलाको माओवादीको हिंसात्मक आन्दोलनसँग कुनै सरोकार नभएको मेरो भाईलाई बालकृष्ण ढुंगेलले हत्या गरे । सर्वोच्चले सजाय सुनाएको ब्यक्तिविरुद्ध आवाज उठाए शान्ति हराउँछ भन्छन माओवादी नेता । दोषिले सजाय नपाउने शान्ति यहाँ चाहिएको छैन,” सावित्रीले भनिन् ।
प्रधानन्यायाधीश प्रधानमन्त्री बनेपछिको आशा
सावित्री भन्छिन्, “खिलराज रेग्मीकै इजलाशले सर्वोच्चको फैसला कार्यान्वयन गराउनु भनेर सरकारलाई आदेश दिएको हो, अहिले रेग्मी नै सरकार प्रमुख हुनुभएको छ, त्यसैले मलाई न्यायको आशा छ र उहाँलाई कार्यान्वयनको चुनौति ।”
असार २०५५ मा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा सर्वोच्च अदालतले १९ पुस २०६६ मा एमाओवादी पूर्व सभासद बालकृष्ण ढुंगेललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर अदालतको फैसला लत्याएर ढुंगेललाई तत्कालिन संविधानसभाले स्वागत गरिरह्यो र अहिले पनि उनी स्वतन्त्र छन । जेल बाहिरै । “अब रेग्मीले सर्वोच्चको आदेश कार्यान्वयन गर्नुपर्छ,” सावित्रीले जोड दिइन् ।
उत्तरतिर अर्को पीडा
प्रधानमन्त्री निवासको पूर्वी गेटभन्दा दक्षिणतर्फ सत्याग्रह भैरहँदा त्यति नै दुरीमा उत्तरतर्फ सडक पेटीमा दुई जना बुढाबुढी भेटिए ।
“४९ दिन भो अन्न मुखमा पर्या छैन, यसका हात खुट्टा सुन्निसके,” सेतै दाह्री पालेका बुढाले भने, “यो मुलुकमा न्याय पाउन गाह्रो भो बाबु ।” बुढा भक्कानिए, “अब यो मर्छे, त्यसपछि म पनि यतै मर्छु ।”
गोरखा भूजेल गाविस–७ का नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारी २४ चैत २०६१ मा माओवादीद्वारा हत्या गरिएका आफ्ना छोराका हत्यारालाई कार्वाहीको माग गर्दै बालुवाटारको उत्तर पेटीसम्म आइपुगेका हुन् ।
सुद्धि हराएको जस्तो लाग्ने बुढा कहिले बरबराउँछन् कहिले रुँदै कराउँछन, “खै न्याय, कहाँ छ ?”
एसएलसी दिएर हजुरबा भेट्न चितवन गएको छोरो विना कसुर माओवादीबाट मारिएको भन्दै अधिकारीले थपे, “गाउँको १२ रोपनी जग्गा, बस्तुभाऊ, घर सबै माओवादीले कब्जामा लिए ।” नन्दप्रसादले आफ्नो ब्यथा सुनाउँदै गर्दा उनकी पत्नी सडकको पश्चिम पेटीमा हत्केलाले घाम छेक्दै सुँकसुँक गर्दै थिइन् ।
“नयाँ प्रधानमन्त्रीलाई भेट्ने आशामा छु उनैले न्याय दिन्छन की !” नन्दप्रसादको आशा छ अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष रेग्मीप्रति ।
सञ्जीव शर्मा


