समाचारआइतबार, चैत्र ११, २०६९
ब्यवसायीले कोशीमा बस सेवा बन्द गरे
ट्याक्सी ब्यावसायी हिले र हिले बजार ब्यावस्थापन समिति धनकुटाले धरानबाट हिले–लेगुवा हुँदै खाँदबारीका लागि सञ्चालन भएको बसलाई अवरोध गरेपछि कोशी अञ्चलका ७ ओटा बस ब्यावसायी संघले विरोध गर्दै सार्वजनिक बस सेवा बन्द गराएका छन् ।
बन्दका कारण कोशीलाई पहाडी जिल्लासँग जोड्ने कोशी राजमार्ग र नारदमुनिथुलङ्ग लोकमार्ग लगायत अन्य सहायक मार्गहरुमा समेत वस सञ्चालन भएका छैनन् । छोटो बाटोबाट बस सञ्चालन हुन नदिएसम्म कोशीका पहाडी जिल्लाहरु धनकुटा, भोजपुर, तेह्रथुम र संखुवासभामा बस सञ्चालन नगर्ने पूर्वाञ्चल बस व्यावसायी संघका अध्यक्ष ज्ञानबहादुर कटुवालले बताए ।
यसअघि खाँदबारीका लागि चैनपुर हुँदै घुमाउँरो बाटोबाट मात्रै बस जाने गरेको भए पनि ७ चैतबाट लेगुवा अरुणको किनार हुँदै खाँदबारी जोड्ने छोटो बाटोबाट बस सञ्चालन हुन थालेको थियो । तर ट्याक्सी मात्र सञ्चालन हुदै आएको उक्त बाटोमा बस सञ्चालन हुन थालेपछि ट्याक्सी ब्यावसायीहरु मारमा परेको भन्दै ट्याक्सी ब्यावसायी र बजारमा ओझेलमा पर्ने भन्दै हिले बजार ब्यावस्थापन समितिले बस सञ्चालनमा अवरोध गरेको हिले बजार व्यावस्थापन समितिका अध्यक्ष बुद्ध तितुङले बताए ।
बस व्यावसायीहरुले बस मात्र संचालनमा अवरोध गरेको भएपनि विहानदेखि कोशी लोकमार्गको धरान धनकुटा हुदै संचालन हुने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधनहरु चलेका छैनन् ।
सन्तोष रुचाल, धनकुटा
