समाचारआइतबार, चैत्र ११, २०६९
असारमा चुनाव हुने सम्भावना कमः पौडेल
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले असारमा निर्वाचन हुने सम्भावना न्यून भएको बताउँदै मंसीरमा भने निर्वाचन पक्कै हुने बताएका छन् ।
११ असारमा तनहुँको दमौलीमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले भने, “अहिलेसम्म निर्वाचन आयोगले पूर्णता पाउन सकेको छैन, अन्य तयारी पनि हुन सकेको छैन, त्यसैले असारमा चुनावको सम्भावना कम छ ।”
सम्भावना कम भए पनि आफूहरुले असारमै निर्वाचन गराउनका लागि हरसम्भव प्रयास गरिरहेको पौडेलको भनाई थियो ।
उनले निर्वाचन निष्पक्ष र स्वच्छ बनाउनका लागि वर्तमान सरकारलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्ने भन्दै बाबुराम भट्टराई सरकारले तीन महिना यता गरेका सबै राजनीतिक नियुक्ति खारेजी गर्नुपर्नेमा जोड दिए । उनले भने, “एमाओवादीले बनाएको संरचनाबाट निष्पक्ष निर्वाचनको ग्यारेन्टी गर्न सकिन्न ।”
उनले निर्वाचन बहिष्कारको चेतावनी दिएका दलहरुप्रति लक्षित गर्दै त्यो उनीहरुका लागि आत्मघाति हुनसक्ने चेतावनी दिए । उनले संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने पनि दाबी गरेका थिए ।
।
पवन पौडेल, तनहुँ
