समाचारसोमबार, चैत्र १२, २०६९
नामावली संकलनमा अवरोध नगर्न गृहको चेतावनी
११ चैतमा गृहमन्त्रायले विज्ञप्ति जारी गर्दै ‘मोर्चा, परिषद्, राजनीतिक दल वा सङ्गठनका नाममा’ राजनीतिक दलबीच भएको सहमति र सरकार गठन प्रक्रियासँग असहमति जनाई विरोध गर्ने वा मतदाता नामावली सङ्कलन र अद्यावधीकरणमा अवरोध सिर्जना गर्ने प्रत्यत्न भएमा सरकारले कारबाही गर्ने बताएको छ ।
संविधानसभाको आगामी निर्वाचन शान्तिपूर्ण, स्वच्छ र भयरहित रूपमा सम्पन्न गराउने एवम् मतदाता नामावली सङ्कलनमा पर्याप्त सुरक्षा व्यवस्था मिलाउने बताउँदै गृह मन्त्रालयले सो कार्यमा अवरोध गर्ने जोसुकैलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइसकिएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा संविधानसभा निर्वाचनको कार्यसम्पादन गर्ने अठोटलाई सार्थकरूपमा परिणामुखी बनाउन तथा सोसम्बन्धी कार्य निर्वाचन समयमा सम्पन्न गर्न सहयोग पुर्याइदिन राजनीतिक दल तथा सम्बद्ध सबैमा अनुरोध गरिएको छ ।
