थप समाचारसोमबार, चैत्र १२, २०६९
वृंदावनका विधवाहरु
एन्थोनी डेन्सलोव
भारत यसै पनि मन्दिर र धार्मिक स्थानहरु जताततै भएको देश हो तर, यमुना किनारमा अवस्थित भगवान कृष्णको नगरी वृंदावनको खास महत्व छ । कृष्णको चरित्र जसरी गीतामा वर्णन गरिएको छ त्यसैले पनि होला विधवाहरु यहाँ उनै भगवानको साहरा पाउने आशामा आउँछन् ।
सैयौँ मन्दिरहरु भएको वृंदावनमा प्रत्येक वर्ष लाखौं भक्तहरु पुग्छन र त्यहाँ सबैको मुखमा कृष्ण र उनकी प्रेमिका राधाकै नाम झुण्डिएको हुन्छ । तर, यो सबै भन्दा पृथक वृंदावनको एउटा अँध्यारो पाटो पनि छ । यो शहरलाई विधवाहरुको शहरका नामले पनि चिनिन्छ ।
मन्दिरहरुका बाहिर सेतो साडी लगाएका विधवाहरु भीख माग्दै गरेका देखिन्छन् । यसरी माग्नेहरुमा उमेर ढल्किसकेकाहरु धेरै छन् ।
सहज छैन जीवन
भारतमा सती प्रथा छैन तर जिन्दगी अहिले त्यो भन्दा पनि खराब छ ।
विधवाहरुलाई अशुभ मान्नेहरु अँझै धेरै छन् समाजमा । तमाम कानूनहरु हुँदाहुँदै पनि उनीहरुलाई पतिको सम्पत्तिबाट बेदखल गरिन्छ र अनेकौं ठोक्कर खाँदै भौंतारिन बाध्य हुन्छन विधवाहरु ।
धार्मिक ज्ञानीहरु होउन वा समाजशास्त्री कसैसँग पनि यो प्रश्नको ठोस उत्तर छैन, आखिर पूरै भारतबाट त्यसमा पनि खासगरी बंगालबाट विधवाहरु किन वृंदावनको बाटो लाग्छन् ।
वृंदावनमा मात्रै ६ हजार विधवाहरु छन् र वरपरका क्षेत्रहरुमा पनि ठूलो संख्यामा विधवाहरु बसोबास गर्छन् ।
यिनीहरुमध्ये कतिपय आफ्नो बाँकी जिन्दगीलाई राधाकृष्णको सेवामा लगाउने चाहनाले त्यहाँ पुग्छन् भने धेरै जसो आफन्तहरुको रुखो ब्यवहार र अत्याचारबाट बच्न त्यसतर्फ लाग्छन् ।
यो भारतीय समाजको यस्तो पाटो हो जसलाई सरकार विश्व नजरबाट टाढै राख्न चाहन्छ, किनभने लाख प्रयासका बावजुद पनि
यो समस्या समाधान गर्न सकिने छैन ।
दिल्लीको एक गैर सरकारी संगठनले केही विधवाहरुलाई भोजन र आश्रयको ब्यवस्था पनि गरेको छ ।
दयामा बाँचेको जीवन
एउटा सानो मन्दिरमा केही विधवाहरु पलेटी कसेर भूइँमा बसेका छन्, केही स्वयम्सेवक उनीहरुलाई दालभात पस्किंदै छन् । उनीहरुमध्ये कोही पश्चिम बंगालबाट एक हजार माइल भन्दा धेरै दुरी तय गरेर यहाँ पुगेका छन् । कती आफैं यहाँ आइपुगेका हुन भने कतिपयलाई आफन्तले छोडेका हुन् ।
सैफ अली दास ६० वर्षकी छन् तर उनलाई जीन्दगीका चोटहरुले समयभन्दा धेरै बुढी बनाएको छ । उनका अनुसार पति जड्याँहा थिए र १२ वर्षअघि पतिको निधन भयो ।
भएका दुई सन्तानमध्ये छोरीले अस्पतालमा ज्यान गुमाइन् भने संपत्तिको विवादमा छोराको हत्या भयो । छोरा पनि गुमाएपछि उनकालागि यो संसारै विरानो भयो, त्यसपछि उनले बाँकी जीवन वृंदावनमा विताउने निधो गरिन् ।
त्यस्तै ८० वर्षकी सोंदीले जवानीमै पति गुमाइन, उनको छोरो छ तर जीवनको सांध्यकालमा बुहारीले उनलाई बेघर बनाइन् ।
विकल्प भक्ति
वृंदावनमा विधवाहरुका लागि चार वटा आश्रम सञ्चालित भए पनि अधिकांश विधवाहरु भाडा तिरेर वेग्लै घरहरुमा बस्छन् र भाडा तिर्नका लागि भिक्षा माग्नु उनीहरुको बाध्यता हो ।
कतिपय महिलाहरु स्थानीयले आफूप्रति नराम्रो ब्यवहार गर्ने गरेको गुनासो गर्छन् । वृंदावनमा आउने श्रद्धालुले दिने भिक्षा उनीहरुको जीवन गुजाराको एकमात्र विकल्प हो ।
गौरी दासी सन् १९७२ मा भारत–बंगलादेश सीमामा तनाव भएपछि वृंदावन आएकी थिइन् , त्यसबेलासम्म उनका पति र तीन छोरी पनि सँगै थिए । तर पछिल्लो १५ वर्षदेखि उनी एक्लै छन् । भन्छिन, “राधा–भक्तिभन्दा अरु कुनै विकल्प मसँग छैन ।”
मन्दिरमा भजन गाएपछि केही खुद्रा पैसा उनीहरुले पाउँछन् । गौरी दासी त्यस्ता करोडौंमध्येकि एक हुन जस्ले आध्यात्मिकताकालागि दुनायादारीबाट विदा लिन्छन् । तर भगवानका यि सेवकहरु अत्यन्तै दयनीय जिन्दगी बाँच्न विवश छन् ।
बीबीसी



