थप समाचारमंगलबार, चैत्र १३, २०६९

आज फागुपूर्णिमा

हिमालखबर

रंगहरुको पर्व फागु (होली) आज एक आपसमा विभिन्न्न रंग लगाएर हर्षोल्लासका मनाइँदैछ ।

दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको हिन्दु धर्मशास्त्रहरूमा उल्लेख छ । त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा सफल नभई प्राण त्याग्न पुगेकी र उनलाई व्रजवासीहरूले जलाई फागु महोत्सव मनाउने प्रथा चलेको जनश्रुति पनि छ ।

भैषज्यशास्त्रका ज्ञाताका अनुसार राम्रो तरिकाले तयार पारिएका रङ र अबिर छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुने र बालिएको चिरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।

भारत कोलकाताको रवींद्र भारती विश्वविद्यालयकी छात्रा पुष्पदल छरेर होली मनाउँदै ।

आजै काठमाडौंको वसन्तपुरमा वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टँुडिखेलमा लगी जलाउने प्रचलन रहेको छ ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मयलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिङ्गारी गाडिएको चिरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ ।

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने प्रथा छ ।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ ।

तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाइने गरिन्छ ।

यस पर्वका उपलक्ष्यमा गत सालको तुलनामा पूर्णिमाको अघिल्लो दिनसम्म राजधानीका बजार, टोल, गल्लीहरूमा कुनै किसिमको लोला हान्ने उच्छृ¬ङ्खल कार्य भएको पाइएको छैन ।

यस दिन विशेषगरी भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रङ्गिएर बाजागाजाका साथ नाचगान गर्दै महिला र पुरुषका समूह आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्छन् ।

यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोसाकमा रङ्गिनाका साथै सपरिवार भेला भई तिर हान्ने प्रतियोगिताको आयोजना गर्छन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो पनि गर्छन् ।

फागुपर्व नेपाल र भारतलगायत अन्य देशमा पनि विभिन्न तरिकाले मनाउने गरेको पाइन्छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>