समाचारबुधबार, चैत्र १४, २०६९
रामसरोज भए ‘महामूर्ख’
मिथिला नाट्य कला परिषद् (मिनाप) ले होलीका अवसरमा वर्षेनी आयोजना गर्ने महामूर्ख सम्मेलनमा वर्ष २०६९ को ‘महामूर्ख’ को उपाधि नेपाली कांग्रेस धनुषाका सभापति राम सरोज यादबलाई दिईएको छ । मिथिला क्षेत्रका मुद्दालाई आफ्नो स्तरबाट पहिचान गराउन योगदान गर्ने एकजनालाई मिनापले होलीका अवसरमा ब्यंग्यात्मक रुपमा महामूर्खको उपाधि दिंदै आएको छ ।
जनकपुरको जानकी मन्दिरमा आयोजित भब्य समारोहबीच बिघटित संबिधान सभाका सदस्य एवम् नेपाली कांग्रेस धनुषाका सभापति राम सरोज यादबलाई मिनापका अध्यक्ष सुनील मल्लिकले कटहरको माला लगाएर महामूर्खको उपाधि दिएका हुन् ।
त्यसै गरी समारोहमा पूर्ब सभासद एवम् सार्वजनिक लेखा समितिका अध्यक्ष रामकृष्ण यादवलाई ‘बैशाखानन्दन’को उपाधि दिईएको छ । जनकपुर नगरपालिकाका ईन्जिनियर बिरेन्द्र यादवलाई ‘मच्छराधीश’को उपाधि दिईएको छ भने मैथिल ब्राम्हण समाजका अध्यक्ष पवन झालाई ‘वंश कुरहैर’ तथा एमाओवादी धनुषा ईन्चार्ज रामचन्द्र मण्डललाई ‘पटमूर्ख’ को उपाधि दिईएको छ ।
धनुषा जिल्ला विकास समितिका सहलेखापाल समेत रहेका मिथिला विकास कोषका अध्यक्ष जिवनाथ चौधरीलाई ‘मूसरीलाल’, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष दिगम्बर रायलाई ‘मूर्ख शिरोमणि’, बजरंग प्रसाद साहलाई ‘खेसरीलाल’ को उपाधि दिईएको छ ।
साहित्यकार शितल झालाई ‘हराशंख’को उपाधि दिदै खुर्सानीको माला लगाईएको थियो भने त्रिभुवन विश्वविद्यालय मैथिलि बिभागका अध्यक्ष परमेश्वर कापडीलाई ‘घुस्का’को उपाधि दिदै फर्सीको माला लगाईएको थियो ।
होली महोत्सव समारोहको दोस्रो दिन महामूर्खको उपाधि दिईनुअघि होरैया गायन स“गै कविता वाचन समेत गरिन्छ । होरैया गायनको क्रममा देशको समसामयिक विषयवस्तु तथा नेताहरुका चरित्रप्रति ब्यड्डग्य गर्दै कलाकारहरुले गीत गाएका थिए ।
मिनापले १६ वर्षदेखि रुपमा महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ ।
इश्वरचन्द्र झा, जनकपुर
