थप समाचारबिहीबार, चैत्र १५, २०६९
होलीमा रंगिएर खुशी बाँडे एकल महिलाले
रोल्पाका एकल महिलाहरुले सामाजिक परम्परालाई चुनौती दिदै रंग खेलेर उल्लासपूर्ण रुपमा होली मनाएका छन् ।
एकल महिलाले रातो रंग, बस्त्र, चुरा लगाउन नहुने भन्ने परम्पराले पीडा दिने गरेको भन्दै राज्य र गैर राज्य पक्षबाट पतिको हत्या भएपछि एकल भएका रोल्पाका एकल महिलाले १३ चैतमा रंग खेलेर धुमधामका साथ होली मनाए । मानव अधिकारका लागि द्वन्द्व पीडित एकल महिला संजालको अगुवाईमा उनीहरुले रातो, निलो र पहेलो रंग एक आपसमा लगाएर सदरमुकाम लिबाङस्थित खुला मञ्चमा होलीको शुभारम्भ गरेका थिए ।
संजालकी अध्यक्ष तुला वलीले अन्य एकल महिलालाई रंग लगाएर शुभकामना समेत दिएकी थिईन । सीता केसीले एकल महिलाले खुशी लुकाएर वाँच्न नहुने भन्दै रंग खेल्दा साह्रै रमाईलो भएको बताइन् ।
जिल्ला प्रशासन कार्यालय रोल्पाका अनुसार जिल्लामा युद्धको समयमा ३ सय १६ महिलाले आफ्ना पति गुमाएका थिए ।
जिल्लामा पहिलो पटक होलीमा रंग खेलेर एकल महिलाले गलत परम्परालाई चूनौति दिएका हुन ।
हीराबहादुर घर्तीमगर, रोल्पा
