थप समाचारशुक्रबार, चैत्र १६, २०६९

मलालाले किताब लेख्ने, ३० लाख डलरको करार

हिमालखबर

बेलायतमा आफ्ना पितासँगै मलाला

पाकिस्तानमा बालिका शिक्षाका लागि आफूलाई जोखिममै पारेर आवाज उठाउँदै आएकी १५ वर्षीया मलाला युसुफजाईले वेलायती प्रकाशन संस्था वाइडेनफेल्ड एण्ड निकोलसनसँग किताबका लागि ३० लाख डलरको करार गरेकी छन् ।

मलाला त्यस बेलादेखि चर्चामा आइन् जब उनले सन् २००९ मा ११ वर्षको हुँदादेखि बीबीसी उर्दू सेवाका लागि डायरी लेख्न शुरु गरिन् । पाकिस्तानको रुढीग्रस्त समाजमा बालिका शिक्षाका लागि उठाएको आवाज चरमपंथी तालिबानहरुलाई सह्य भएन र ९ अक्टोबर २०१२ मा संधै झैं विद्यालयबाट फर्कदै गर्दा उनीमाथि गोली प्रहार भयो ।

गम्भीर घाइते अवस्थामा बेलायतमा उपचारका लागि गएकी मलाला अहिले बेलायतमै बस्छिन्, उनको उपचार अझै जारी छ ।

मलालाले आफ्नो किताबमा आफ्ना बारेमा मात्रै नभई स्कुल जान नपाएका करोडौं बालिकहरुको कथा पनि लेख्ने बताएकी छन् । मलालाको कितावको नाम ‘I am malala’ हुनेछ जुन यसै वर्ष प्रकाशित हुने प्रकाशन संस्थाले जनाएको छ ।

मलाला भन्छिन,“मलाई आशा छ, यो किताबले संसार भरकै व्यक्तिहरुलाई केही बालबालिकका लागि स्कुल जान कति कठिन छ भन्ने बारेमा जानकारी दिनेछ ।” उनले अगाडि भनिन, “म आफ्नो कथा भन्न चाहन्छु, तर यो ती ६ करोड बालबालिकाहरुको पनि कथा हुनेछ जो विद्यालय जान पाएका छैनन् ।” उनी प्रत्येक बालबालिकालाई विद्यालय जान पाउने अधिकार प्रत्याभूत गर्ने अभियानमा आफू पनि सहभागी हुन चाहेको बताउँछिन् ।

लामो समयसम्म अस्पतालमा बस्नु परेका कारण पढाई छोड्नु परेकी मलाला अहिले बेलायतमै विद्यालय जान शुरु गरेकी छन् ।

मलालाले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेकी छन् । संयुक्त राष्ट्र संघले १२ जुलाईलाई ‘मलाला दिवस’ का रुपमा मनाउने निर्णय गरिसकेको छ ।

मलालाको परिवारले पाकिस्तान र अन्य देशका बालिकाहरुको शिक्षा र सशक्तिकरणका लागि मलाला फण्ड पनि स्थापित गरेको छ ।

एजेन्सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>