थप समाचारशनिबार, चैत्र १७, २०६९
वीरगञ्जमा दुई दिनमा २ करोडको मासु बिक्यो
तराईमा धुमधामका साथ मनाइने होलीका अवसरमा वीरगञ्जमा मात्रै १३ र १४ चैतमा गरी २ करोड १ लाख रुपैंयाको खसी र कुखुराको मासु बिक्री भएको छ ।
माछामासु ब्यवसायी संघ पर्साका सचिव ग्यासुमियाँ देवानले यस वर्षको होलीमा खसीको मासु १० हजार किलो र बाख्रीको मासु २५ सय किलो बिक्री भएको बताएका छन् । खसीको मासु करिब ६० लाख र बाख्रीको मासु १० लाख रुपैंयाको बिक्री भएको उनले जानकारी दिए ।
त्यस्तै कुखुरा मासु व्यवसायी संघका सचिव सिताराम रिजालले वीरगञ्ज नगरपालिकाभित्र मात्रै १ करोड २० लाख भन्दा बढीको कुखुराको मासु विक्रि भएको जानकारी दिए । कुखुरा मासु व्यवसायी संघको नियम र स्थानीय प्रसाशनको कडाईले गर्दा यस वर्षको होलीमा अनुमानित भन्दा कम मुल्य (३०० प्र. किलो) मा ४० हजार किलो विक्री भएको रिजालले बताए ।
वीरगञ्जमा दशैं र होलीका बेला मासु धेरै बिक्री हुने गरेको छ ।
वीरगञ्जमा वार्षिक ७५ करोड रुपैंया भन्दा बढीको माछामासुको कारोबार हुन्छ । देवान भन्छन्, “दैनिक औसत २५ लाख र मासिक ७ करोडको हाराहारीमा वीरगञ्जमा माछामासु बिक्री हुनेगरेको छ ।” साउन र कार्तिक महिना कम मासु बिक्री हुने महिना हुन् ।
होलीका लागि मात्रै भारतवाट अवैध रुपमा ५ हजार किलो मासु भित्रिएको मासु ब्यवसायीहरुको भनाई छ । यसको प्रत्यक्ष मार यहाँका कुखुरा मासु व्यवसायीमा पर्न गएको रिजाल बताउंछन् । प्रसाशनले भारतबाट बर्डफ्लुका कारण कुखुरा ल्याउन प्रतिबन्ध लगाएपनि कुखुरा र अण्डा अन्य नाका भएर भन्सार छलेर भित्रिने गरेको छ ।
बिम्मी शर्मा, वीरगञ्ज
