थप समाचारआइतबार, चैत्र १८, २०६९
‘टाइम सूची’ मा अरविंद केजरीवाल
प्रत्येक वर्ष विश्वभरका एक सय प्रभावशाली व्यक्तिहरुको सूची प्रकाशन गर्ने खबरपत्रिका ‘टाइम’ ले सन् २०१३ का लागि सूचिकृत गरेका १५३ नामहरुमा भारतमा भ्रष्टाचार विरोधी आन्दोलन गरिरहेका अरविन्द केजरीवालको नाम पनि समावेश गरेको छ । टाइमको यो सूचीमा समावेश केजरीवाल एकमात्र भारतीय हुन् ।
अनलाइन भोटिङबाट यी १५३ मध्ये सयजनाको नाम १८ अप्रिलमा प्रकाशन गरिनेछ । अहिलेसम्म केजरीवाल यो सूचीको तेस्रो स्थानमा छन् । मतदान १२ अप्रेलसम्म हुने ‘टाइम’ ले जनाएको छ ।
केजरीवालले भने आफूलाई यो सूचीका बारेमा केही जानकारी नभएको बताएका छन् । “मलाई यसको जानकारी छैन,” उनले भनेका छन, “कुनै सूचीमा आउनु मेरो उद्देश्य होइन । म मान्छेको काम आउन सकुं, त्यतीभए पुग्छ ।”
१५३ जनाको यो सूचीमा सिरियाका राष्ट्रपति बशर अल असद, अमेरिकी राष्ट्रपति बाराक ओबामा, उनकी पत्नी मिसेल ओबामा र बालिका शिक्षाका लागि आवाज उठाउने पाकिस्तानकी किशोरी मलाला युसुफजई पनि समावेश छन् ।
सन् २०१० मा ब्राजिलका राष्ट्रपति लूला डि सिल्वा प्रभावशाली व्यक्तिको सूचीमा पहिलो नम्बरमा थिए, त्यसैगरी सन् २०११ मा इजिप्ट क्रान्तिका प्रवक्ता भनिएका वईल गोहिम र २०१२ मा बास्केटबल खेलाडी जेरेमी लिन थिए ।
को हुन केजरीवाल
४५ वर्षीय अरविन्द केजरीवाल भारतमा भ्रष्टाचार विरोधी ‘जनलोकपाल विधेयक’ को माग गर्दै अन्ना हजारेसँग आन्दोलनमा आएपछि बढी चर्चामा आएका हुन् । भारतमा सूचनाको हक सम्बन्धी कानून (Right to Information law) बनाउनमा उनले गरेको आन्दोलन प्रमुख उपलब्धि मानिन्छ ।
आइआइटी खडगपुरबाट मेकानिकल इञ्जिनियरिंगमा स्नातक केजरीवालले कुशल नेतृत्वका लागि रमन म्यागसेसे पुरस्कार पनि प्राप्त गरेका छन् । हरियाणामा जन्मेका उनी भारतीय राजस्व सेवाको जागिर छोडेर सामाजिक आन्दोलनमा उत्रिएका हुन् ।
केजरीवालको अनसन र राजनीति
दिल्लीमा बिजुली र पानीको महशुल बढाइएपछि त्यसकाविरुद्ध केजरीवाला अहिले अनसन बसिरहेका छन् । १८ चैतमा उनी अनशन बसेको ८ औं दिन पुगेको छ ।
उनले दिल्लीबासीलाई बिजुली र पानीको महशुल नतिरेर सरकारविरुद्ध असहयोग आन्दोलन चर्काउन आग्रह गरिरहेका छन् । उनको यो आन्दोलनलाई दिल्लीबासीहरुको राम्रै समर्थन प्राप्त छ ।
दिल्लीका अधिकांश जनताले पानी र बिजुलीको महशुल तिर्न बन्द गरेपछि आफ्नो अनसन तोड्ने उनले बताएका छन् । अहिलेसम्म करिब चार लाख जनताले उनको आन्दोलनलाई समर्थन गर्दै ऐक्यवद्धता प्रकट गरिसकेका छन् ।
अरविन्द केजरीवालले देशको राजनीति सुधार्न आफै राजनीतिमा होमिनुपर्छ भन्दै ‘आम आदमी पार्टी (आप)’ गठन गरेका छन् । २ अक्टोबर २०१२ मा राजनीतिमा प्रवेश गरेको औपचारिक घोषणा गरेका केजरीवालले सामाजिक आन्दोलन जस्तै राजनीतिमा भने सफलता पाउलान वा नपलाउन भविष्यमै थाहा होला ।

