समाचारसोमबार, चैत्र १९, २०६९
कारागारबाटै हत्या योजना
कर्तब्य ज्यान मुद्दामा सजाय काटिरहेका भारतको भिट्ठामोड घर भएका शशिनाथ झाको निर्देशनमा महोत्तरीका पंकज यादव र धनुषाका रमदैया भवाडीका किशोरी यादवको हत्या भएको धनुषा प्रहरीले जनाएको छ ।
अपहरण गरी फिरौती लिने अपराधलाई मजबूत पार्न हत्या गराईएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको धनुषाका प्रहरी उपरिक्षक बसन्तकुमार पन्तले बताए ।
झाको निर्देशनमा धनुषाको रमदैया भवाडी घर भएका किशोरी यादवलाई ट्रकसहित अपहरणपछि हत्या भएको र महोत्तरी सुन्दरपुरका छात्र पंकज यादवको पनि झाकै निर्देशनमा भएको प्रहरीको दाबी छ ।
हत्यामा संलग्न तीनजना अभियुक्तलाई पनि प्रहरीले सार्वजनिक गरेको छ । अन्य तीनजना अभियुक्तहरु फरार छन् । पक्राउ परेकाहरुमा सिरहा अरनामा ९ का २२ वर्षीय गणेशकुमार सिंह महतो, भारत भिट्ठामोड हनुमाननगरका ४८ वर्षीय ऐलुन राईन र धनुषा भरतपुर ३ का ४३ वर्षीय कुशेश्वर ठाकुर छन् ।
प्रहरीका अनुसार पत्रकार उमा सिंह हत्याका फरार अभियुक्तहरु स्वामीजी भनिने उमेश यादव र ललित मिश्रासँगको मिलोमतोमा आपराधिक गतिबिधि सञ्चालन गर्दै आएका छन् ।
१३ मंसीरमा महोत्तरीको एभरेष्ट चिनी मिलबाट फर्किदै गर्दा ट्रकसहित अपहरणमा परेका धनुषाको रमदैया भवाडी ३ बस्ने किशोरी यादवको शव १० पुसमा सर्लाहीको भक्तिपुर जंगलमा फेला परेको थियो । त्यसै गरी जनकपुरबाट ४ चैतमा अपहरणमा परेका महोत्तरीको सुन्दरपुर– १ का २२ वर्षीय छात्र पंकज यादवको शव महोत्तरीको अड्ढार ४ स्थित रातो खोलामा फेला परेको थियो ।
इश्वरचन्द्र झा, जनकपुर

