समाचारबुधबार, चैत्र २१, २०६९
अध्यक्ष रेग्मीको जग्गा माओवादीद्वारा कब्जा
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेश शाहका अनुसार, बर्दियाको खैरी चन्दनपुरमा रहेको मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, उनका ससुरा लक्ष्मीप्रसाद उपाध्याय र मामा ससुरा युवराज शर्माको गरी ५० विगाह जग्गा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले कब्जा गरेको छ ।
नेकपा–माओवादीले २१ चैत बिहान तीन बजे ती जग्गामा झण्डा गाडेर कब्जाको घोषणा गरेका हो । माओवादीले शर्माको घरमा पनि झण्डा गाडेका छन् । लक्ष्मीप्रसाद उपाध्यायका छोरा नभएकाले उनले तीन छोरीलाई जग्गा दिएका छन् ।
माओवादीले जग्गा कब्जा गरेको खबर प्राप्त भएपछि उक्त स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । जिल्लाबाट थप प्रहरी पठाइ जग्गा कब्जा गरिएको ठाउँ घेरेर राखिएको र माओवादीले गाडेको झण्डा उखेलिएको स्थानीयले बताएका छन् । अहिले उक्त स्थानमा स्थिति सामान्य बनिसकेको छ ।
यससम्बन्धमा नेकपा–माओवादीका प्रवक्ता पम्फा भुसालले कुनै ब्यक्ति विशेषको जग्गा कब्जा गर्ने भनेर नतोकिएको तर, उनीहरुलाई जिल्ला प्रवेशमा रोक लगाउने, विरोध गर्ने नीति रहेको बताइन् । उनले भनिन्, “यो धर्मेन्द्र वास्तोला भन्ने साथीको ब्युरो अन्तर्गत पर्छ, उहाँहरुले के निर्णय गर्नुभएको छ म बुझ्दैछु ।” भुसालले ती जग्गाहरु ‘जनयुद्ध’ कालदेखि नै कब्जामा रहेको पनि दाबी गरिन् ।
डि भण्डारी, नेपालगन्ज
