समाचारबुधबार, चैत्र २१, २०६९
निर्वाचन कहिले गर्ने सरकारले स्पष्ट भनोसः बोगटी
असारमा निर्वाचन नभए एमाओवादी आन्दोलनमा जाने भन्ने समाचार सार्वजनिक भएको सम्बन्धमा एमाओवादी महासचिव पोष्टबहदुर बोगटीले आफ्नो भनाईको गलत ब्याख्या भएको भन्दै थपे, “सरकार र निर्वाचन आयोग समेतको गठन असारमा निर्वाचन गराउनका लागि भएको हो, यदि असारमा हुन सक्दैन भने त्यसको स्पष्ट कारण सरकार र आयोगले जनतालाई जानकारी गराउनुपर्छ भनेको हुँ ।” उनले अगाडि भने,“मैले अहिले नै आन्दोलनमा जाने कुरा गरेकै छैन ।”
नेकपा–माओवादीलगायतका दलहरुले वर्तमान सरकारले गराउने निर्वाचनको विरोध गरिरहेको अवस्थाप्रति प्रतिक्रिया दिंदै बोगटीले उनीहरुले अहिले राखेका माग पूरा हुनै नसक्ने भन्दै निर्वाचनको मिति घोषणा भएको अवस्थामा सबै दलहरु दर्ता प्रक्रियामा जाने र निर्वाचनको माहोल बन्ने दाबी गरे ।
उनले एमाओवादीले असारमै निर्वाचन चाहेको र यदि असारमा हुन नसक्ने हो भने त्यसको कारणसहित कहिले निर्वाचन हुनसक्छ सरकारले स्पष्ट धारणा ल्याउनुपर्ने बताए । उनले अहिलेसम्म निर्वाचनको मिति घोषणा नहुनुले सरकार र आयोगप्रति नै शंका उत्पन्न हुन थालेको बताए ।
बोगटीले भने, “निर्वाचनको मिति घोषणा नगर्ने, प्रक्रियामा नजाने र दुइजिब्रे कुरा गर्ने आयोग प्रमुखको कुरा चित्त बुझ्दो छैन ।”
यसअघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले उच्चस्तरीय राजनीतिक समितिले निर्वाचनको मितिसम्बन्धमा निर्णय गर्न आग्रह गरेका थिए ।
