समाचारशुक्रबार, चैत्र २३, २०६९
विभिन्न स्थानमा आगलागी, करोडौको धनमाल खरानी
सिरहाको फुलकहाकट्टी गाविस–१ र ६ का दुई गाउँमा २२ चैत दिउँसो भीषण आगलागी भएको छ । दुवै ठाउँको आगलागीबाट करिब रु एक करोडको धनमाल जलेर नष्ट भएको छ ।
आगलागीमा फूलकहाकट्टी–१ सिमरा गाउँका ३० वटा घर जलेका छन् भने आगलागीमा परेर पाँच जना घाइते भएका छन् । आगलागी लगत्तै पुगेको नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको प्रयासमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।
स्थानीयका अनुसार विद्युत चोरी हटाउन प्रहरीसँगै गएका विद्युत् प्राधिकरणका कर्मचारीहरूले हुकिङ गरेको तार तान्दा सर्ट भएर पाण्डव मण्डलको घरबाट आगलागी शुरु भएको थियो ।
त्यस्तै फूलकहाकट्टी– ६ स्थित लवटोलीमा भएको आगलागीबाट करिब एक दर्जन घरटहरा जलेर नष्ट भएको छ ।
चर्को घामसँगै चलेको तीव्र हावाको कारण आगो नियन्त्रण हुन नसक्दा घरटहरा जल्दा करिब पाँच लाख मूल्य बराबरको धनमाल क्षति भएको पीडितहरूलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
मकवानपुर जिल्लाको पूर्वी भेगको राई गाउँ गाविसको जङ्गलमा लागेको डढेलो फैलिएर २२ चैत दिउँसो १० वटा घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सो आगलागीबाट गाउँमा जडान गरिएको सोलार प्यानलसहित केही पशुपक्षी नष्ट भएपछि करिब २० लाख रूपैयाँ बराबरको क्षति भएको छ ।
सप्तरीको बकधुवा गाविसमा २२ चैत दिउँसो भएको आगलागीमा २५ घर जलेर नष्ट भएको छ । आगलागीबाट रु ३० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
बकधुवा गाविस–१ निवासी बुधाई यादवको भान्सा कोठाबाट सल्केको आगो फैलिएर अन्य १५ परिवारको २५ घर जलेर नष्ट भएको छ ।
आगो फैलिन नदिन स्थानीयबासिन्दाले दुईओटा घर भत्काएका थिए । आगलागीबाट खाद्यान्न भाडाकुँडा, लत्ताकपडा तथा बन्दोबस्तीका सबै सामान जलेर नष्ट भएको पीडितहरूले बताएका छन् ।
यसअघि गत सोमबार राति सोही गाविस–३ स्थित दलित बस्तीमा भएको आगलागीमा ४१ परिवारको ७२ घर जलेर नष्ट भएका थिए ।
त्यस्तै सप्तरीकै तेरहौता गाविस–५ मा भएको आगलागीमा परी रु एक लाख बराबरको क्षति भएको छ । स्थानीय गहुँ चुट्ने मिलको थ्रेसरबाट निस्केको आगोको झिल्काले दाउनी गर्न राखिएको करिब रु एक लाख बराबरको गहुँ नष्ट भएको छ ।
मोरङको पूर्वी गाविस दर्वेशामा २२ चैतमै तीन घरमा आगलागी हुँदा रु तीन लाखभन्दा बढीको धनसम्पत्ति जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दर्वेशा–२ बस्ने सन्तलाल सिंहको तीनवटा फूसको घर जलेर नष्ट भएका हुन् ।
तनहुँको दुई गाविसमा आगलागी हुँदा आठ घर जलेर नष्ट हुनाका साथै लाखौँ मूल्यबराबरको धनमाल क्षति भएको छ ।
जिल्लाको दक्षिण भेगमा पर्ने कोटदरबार गाविस–२ स्थित चरौटेमा छ घर र घिरिङसुन्धारा गाविस – २ मा दुई घर जलेर नष्ट हुँदा क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
स्थानीय चरौटे सामुदायिक वनमा लागेको आगोे बस्तीमा सल्किँदा स्थानीय पाँच घर नष्ट हुनाका साथै केही चौपाया मरेका छन् ।
पर्साको औराहा गाविस– ९ बहुअरी टोलमा २२ चैत विहान आगलागी हुँदा ५ ओटा घर जलेर नष्ट भएको छ । स्थानीय नयन यादवको घरमा विहान ९ बजे खाना पकाउन बालिएको आगो सल्किदा छिमेकीहरुका चार घर पनि जलेर नष्ट भएका हुन् ।
आगलागीबाट दुई वटा टायर गाडा जल्नुका साथै घरमा रहेका अन्न, लत्ताकपडा, फर्निचर गरेर करिव १० लाख मुल्य बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ ।
बाराको बगही गाविस– ९ मा २१ चैत राती भएको आगलागीबाट ११ ओटा घर गोठ जलेर नष्ट हुदा ८ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
मोटर हजराको गोठमा लामखुट्टे धपाउन बालीएको घुरबाट आगो सल्किएर आगलागी भएको हो ।

