समाचारशुक्रबार, चैत्र २३, २०६९
असन्तुष्ट पक्ष नगएपछि सर्वदलीय बैठक स्थगित
आगामी निर्वाचनको विरोध गरिरहेका दलहरुसँग वार्ता गरेर उनीहरुलाई पनि चुनावी प्रक्रियामा सहभागी गराउने उद्देश्यले प्रमुख दलहरुले बोलाएको बैठकमा नेकपा–माओवादीलगायत असन्तुष्ट साना दल नगएपछि बैठक हुन सकेन ।
बिहान ९ बजेपछि सेना समायोजन समितिको कार्यालय नयाँ बानेश्वरमा हुने भनिएको छलफलमा एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाका नेताहरु पुगे पनि नेकपा–माओवादीलगायत साना दलका कोही पनि नगए पछि केहीबेर बसेर ठूला दलका नेताहरु फर्किएका थिए ।
बैठकका लागि नयाँ बानेश्वर पुगेका नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले असंतुष्ट नेताहरुले आन्तरिक गृहकार्य नपुगेर छलफलमा आउन नसकेको जानकारी गराएपछि बैठक स्थगित गरेको जानकारी दिए ।
नेकपा–माओवादीका सचिव देव गुरुङले संविधानसभाको चुनाव गर्ने जस्तो महत्वपूर्ण निर्णय मनोमानी ढंगले गरेकाले त्यो नसच्याएसम्म सरकार वा दलका नेताहरुसँग वार्ता नगर्ने बताए ।
चारदलको सहमति खारेजी नै आफूहरुको शर्त रहेकाले वार्ता गर्नुको औचित्य नभएको माओवादीले बताउँदै आएको छ ।
