थप समाचारशनिबार, चैत्र २४, २०६९
सुन्दरताको तारिफपछि ओबामाले माफी मागे
ओबामाले ह्यारिसलाई पुरानो मित्र र ‘देशकी सर्वाधिक सुन्दर अटर्नी जनरल’ भनेका थिए ।
ह्यारिसका प्रवक्ताले ओबामाको कट्टर समर्थक भए पनि ह्यारिसले ओबामाको माफी स्वीकार गरिन् वा गरिनन् स्पष्ट भन्न नसकिने सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिएका छन् ।
ओबामाका आलोचकहरुले उनको अभिव्यक्तिलाई कामकाजी महिलाहरुले कार्यालयमा सामना गर्नुपर्ने अप्ठ्यारोसँग जोड्दै निन्दा गरेका थिए ।
गत बुधबार क्यालिफोर्नियामा आयोजित एक कार्यक्रममा बाराक ओबामा कमला ह्यारिससँगै थिए ।
ह्यारिसको भाषणपछि जब ओबामाको बोल्ने पालो आयो उनले भने, “ह्यारिस निकै समझदार र कामप्रति समर्पित महिला हुन् । उनी ठिक काम गराउन कठोर निर्णय गर्न पनि सक्छिन । कानून ब्यवस्थालाई सुचारु राख्न उनीजस्ता मानिसको खाँचो हुन्छ ।”
त्यसपछि ओबामाले थपे, “साथै उनी अमेरिकाकी सबैभन्दा सुन्दर अटर्नी जनरल हुन, उनी मेरी पुरानो साथी र कट्टर समर्थक पनि हुन् ।”
त्यसपछि शुक्रबार ह्वाइट हाउसबाट जारी गरिएको एक विज्ञप्तिमा राष्ट्रपति ओबामाले ह्यारिसँग माफी मागेको बताइएको छ ।
ह्वाइट हाउसका सचिव जे कार्नेले भनेका छन्, “राष्ट्रपतिको आशय महान्यायाधिवक्ताले हासिल गरेका उपलब्धिहरु र उनको क्षमतालाई कम आकलन गर्नु थिएन ,” विज्ञप्तिमा थप उल्लेख छ, “राष्ट्रपति महिलाहरुले कार्यालयमा सामना गर्नुपर्ने समस्याका बारेमा पूर्ण जानकार हुनुहुन्छ र महिलाहरु कस्ता देखिन्छन भन्ने आधारमा उनीहरुको क्षमता तय हुँदैन ।”
ओबामाको अघिल्लो अभिव्यक्तिको सामाजिक सञ्जाल र ब्लगहरुमा आलोचना भएको थियो ।
बीबीसी
