समाचारसोमबार, चैत्र २६, २०६९
चार दलका नेता सम्राट हुन खोजेः वैद्य
रेडियो मिर्मिरेको छैठौं वार्षिकोत्सवको अवसरमा २६ चैतमा आयोजित कार्यक्रममा बोल्दै वैद्यले जनतालाई केन्द्रविन्दुमा राख्नुभन्दा पनि आफैलाई केन्द्रविन्दुमा राखेर काम गरेका कारण उनीहरू सम्राटको मानसिकतामा रहेको बताए । प्रमुख चार राजनीतिक शक्तिको कुनै संवैधानिक हैसियत नभएकाले उसले बोलाएको वार्तामा नजाने बरु उनीहरूसँग छुट्टाछट्टै राजनीतिक दलका हैसियतले वार्ता गर्न सक्ने उल्लेख गरे । अध्यक्ष वैद्यले भने, “चार दलको आह्वान अस्वीकार्य छ । अब वार्ता गर्नुको अर्थ छैन र रहँदैन ।”
कार्यक्रममा सङ्घीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले नेकपा एमाले र नेपाली काँग्रेस यथास्थितिवादी पार्टी भएको बताउँदै एमाओवादीले पनि परिवर्तनका लागि लडेको सेना नै विघटन गरेर गद्धारी गरेको आरोप लगाए । उनले चार दलीय एकाधिकार तोड्नकालागि संविधानसभाको पुनःस्थापना वा गोलमेच सम्मेलनबाट विकल्प खोज्न आग्रह गरे ।
