समाचारशुक्रबार, चैत्र ३०, २०६९
मलेसियामा २२ नेपाली अलपत्र
रोजगारीका लागि मलेसिया पुगेका नेपालीहरू विगत एक महिनादेखि अलपत्र परेका छन् । अलपत्र परेकाहरुमा राजेनकुमार लिम्बु तेह्रथुम, सन्तोस नेपाली तेह्रथुम, नरेन्द्रवहादुर राना स्याङजा, देवानसिं थापा पाल्पा, भिमवहादुर गुरुङ स्याङजा, टोपवहादुर जर्घा पाल्पा, सन्तोष मोते झापा, पदमवहादुर जिमी धनकुटा, खडकवहादुर जिमी धनकुटा, पदमवहादुर नेपाली स्याङजा, दुर्गावहादुर तामाङ धनकुटा, सुरेश दंगाल काठमाडौ, सुवास गुरुङ बारा, राजकुमार गुरुङ सुनसरी, साजना थापा स्याङजा, यमवहादुर लावती पाँचथर, सुरज तामाङ मकवानपुर, थमानसिं कार्की गोर्खा, रुद्र फुयाल चितवन र विबेक कार्की झापा रहेका छन ।
आफूहरु एक महिनादेखि एकछाक खाएर वसेको काठमाडौ साखुका सुरेश दंगालले बताए । दंगालका अनुसार सम्झौतामा न्यूनत्तम तलव ५ सय ४६ रिङगेट दिने भने पनि कम्पनीले २ सय ८ रिङगेट मात्र दिएकाले काम गर्न नसकेको दंगालले वताए ।
नेपाल फर्काउन अनुरोध गर्दा पनि कम्पनीले वेवास्ता गरेको दंगालको भनाइ छ । मलेसीयास्थित नेपाली दुतावासमा फोन गर्दा नउठेको उनको गुनासो छ । यसैगरी काठमाडौ स्थीत वैदेशिक रोजगार विभागमा पनि फोन गर्दा पहल गर्न नसक्ने जवाफ दिएको दंगालले जानकारी दिए । मेन पावरमा फोन गर्दा ‘तिमीहरू काम गर्ने भने गर नत्र मलेसियामा सडेर वस’ भन्ने जवाफ मात्र पाएको दंगालको भनाइ छ । कम्पनीले निःशुल्क भिसा र टिकट पठाएको भए पनि उनीहरु जनही रु. एक लाख तिरेर त्यहाँको गएको दंगालको बताए ।
सिता मादेम्बा, धरान
