थप समाचारशनिबार, चैत्र ३१, २०६९
काठमाडौंमा साझा बस सञ्चालन
ललितपुरको पुल्चोकस्थित कार्यालयमा ३१ चैतमा नेपाल सरकारका मुख्यसचिव लीलामणि पौडेलले साझा बस सेवा उद्घाटन गरेका हुन । मुख्य सचिव पौडेलले हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यबाट रु १५ को टिकट खरिद गरी बस चढेका थिए । व्यावसायिक सेवा भने १ वैशाखबाट शुरु हुने साझा व्यवस्थापनले जानकारी दिएको छ ।
मुख्य सचिव पौडेल साझाले यात्रुको अधिकार, सुविधा, सुरक्षाको प्रत्याभूति र आचरणका साथै नमुनाको रूपमा सेवा पु¥याउनुपर्ने बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले साझाले गुणस्तरीय र प्रभावकारी सेवामा ध्यान दिनुपर्ने बताए ।
साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले साझा यातायातलाई सार्वजनिक यातायातको नमुनाका रूपमा जनताको सेवामा समर्पित गर्ने उल्लेख गरे । गुणस्तरीय र भरपर्दो सेवामार्फत यात्रुको मन जित्ने अध्यक्ष दीक्षितको भनाई थियो । अपाङ्गहरूको सेवालाई मध्यनजर गर्दै साझाले ह्वीलचेयर मैत्री बस सेवा अबको तीन महिनाभित्रै सञ्चालन गर्ने पनि उनले घोषणा गरे ।
कार्यक्रममा चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राष्ट्रिय सहकारी बोर्डका अध्यक्ष केशव बडाल, साझाका सञ्चालक तथा वातावरणविद् भूषण तुलाधरलगायतले विगतका कमीकमजोरीबाट पाठ सिकेर साझालाई जनताको बस बनाउनु पर्ने धारणा राखे ।
१२ वर्षपछि पुनः सञ्चालनमा आएको साझाले १६ वटा बस सञ्चालनमा ल्याएको हो ।

