समाचारआइतबार, बैशाख १, २०७०
नयाँ वर्षको बेला मापसे गर्ने दुई हजार चालकमाथि कारवाही
विगत वर्षका पहिलो दिन भएका सवारी दुर्घटनालाई ध्यानमा राख्दै ट्राफिक प्रहरी महाशाखाले ३१ चैत रातिदेखि विशेष जाँच गरेको थियो । महाशाखाका प्रवक्ता पवनकुमार गिरीका अनुसार उपत्यकाका विभिन्न ६५ स्थानमा चेक प्वाइन्ट राखी गरिएको चेकिङका क्रममा १ बैशाख अपराह्न ४ बजेसम्म मात्रै एक हजार दुई सय ७२ सवारी चालकलाई कारबाही गरिएको र एक सय १७ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ, जुन सङ्ख्या साँझसम्म बढिरहेको छ ।
प्रवक्ता गिरीले महाशाखाले सोमबार एकमुष्ट विवरण प्रकाशमा ल्याइने पनि बताए । नयाँ वर्षका क्रममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, मोटरसाइकल चलाउँदा हेलमेट नलगाउने, मोटरसाइकलमा दुईभन्दा बढी यात्रा गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने जस्ता ट्राफिक नियम उलङ्घनका कार्य देखिएको महाशाखाले जनाएको छ ।
