थप समाचारसोमबार, बैशाख २, २०७०
मदुरो भए भेनेजुएलाका नयाँ राष्ट्रपति
तत्कालिन राष्ट्रपति ह्युगो चाभेजको निधनपछि कार्यबाहक राष्ट्रपतिको पद सम्हालेका निकोलास मदुरो भेनेजुएलाको नयाँ राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।
मदुरोसँग थोरै मतको अन्तरले पराजित भएका उनका प्रतिद्वन्द्वी उम्मेदवार हेनरिक क्याप्रिलेसले भने आफू पराजित भएको अस्वीकार गरेका छन् । यसबीच मदुरो विजयी भएको घोषणा भइसकेको छ भने प्रतिपक्षी नेता क्याप्रिलेसले पुनः मतगणना हुनुपर्ने माग गरेका छन् ।
राष्ट्रिय निर्वाचन परिषदले निर्वाचनको नतिजाबाट मदुरोले ५०.६६ प्रतिशत मत प्राप्त गरेको भन्दै आइतबार बेलुका उनी विजयी भएको घोषणा गरेको थियो । क्याप्रिलेसले ४९.१ प्रतिशत मत प्राप्त गरेका थिए । यहाँ फरक मत तीन लाख भएको बताइएको छ ।
राष्ट्रपति भवनमा आफ्ना समर्थकहरूबीच मदुरोले यो निर्वाचन पूर्व राष्ट्रपति चाभेजप्रति अर्को श्रद्धाञ्जलि भएको बताउँदै मतगणनाको परीक्षण गर्न पनि आफू तयार रहेको बताएका छन् ।
उनले प्रतिद्वन्द्वी क्याप्रिलेसलाई टेलिफोन गरी निर्वाचनको नतिजा स्वीकार गर्न आग्रह गरे । निर्वाचन प्रचारप्रसारको समयमा दुबै उम्मेदवारले निर्वाचनको नतिजा स्वीकार गरिने बचन दिएका थिए ।
क्याप्रिलेसले मतकेन्द्र बन्द भएपछि पनि मतदातालाई मतदान गर्न दिने प्रयास भएको, सरकारी कर्मचारीलाई मदुरोका पक्षमा मतदान गर्न दबाब दिइएको आरोप लगाएका छन् ।
राष्ट्रिय निर्वाचन परिषद्का अध्यक्ष टिबिसी लुसेनाले ९९ प्रतिशत मतगणना भइसकेको अवस्थामा नतिजा परिवर्तन नहुने बताए । उनले निर्वाचनमा ७८ प्रतशित मत खसेको बताउनुभयो ।
निर्वाचनको नतिजा प्राप्त हुनुअगाडि नै मदुरोका समर्थकहरूले राष्ट्रपति प्रासादअगाडि खुसी प्रकट गर्न थालेका थिए ।
एएफपी
