समाचारसोमबार, बैशाख २, २०७०
लण्डनस्थित नेपाली दूतावास नबेच्न अन्तरिम आदेश
कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको एकल इजलासले दूतावास भवन बेच्नेजस्तो गम्भीर प्रकृतिको बिबादमा दुवै पक्षलाई राखी छलफल गराउन पर्ने भएकाले तोकिएका दिन छलफलमा उपस्थित हुन जारी गरेको आदेशमा उल्लेख छ ।
सो इजलासले उक्त दूतावास बेच्नुपर्नाको लिखित कारणसहित १५ दिनभित्र उपस्थित हुन अन्तरिम चुनावी मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय र बेलायतस्थित नेपाली दूतावासका नाममा आदेश पनि जारी गरेको सर्वोच्च अदालतका सहायक प्रवक्ता हेमन्त रावलले जानकारी दिए ।
बेलायती बजारमा बढी मूल्यमा बिक्री हुन सक्ने सो भवनलाई मूल्यमा तुलना गरेर बिक्री गरेमा नेपाली अस्मितामा आँच आउने भन्दै बिक्रीलगायतका सम्पूर्ण कार्य नगराउनका लागि अन्तरिम आदेश जारी गर्न माग गर्दै भूतपूर्व सैनिक सङ्गठन (गेसो)का अध्यक्ष पद्मबहादुर गुरुङ तथा अधिवक्ता तुलसी सिंखडाले गत १९ चैतमा सर्वोच्चमा छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए ।

