समाचारमंगलबार, बैशाख ३, २०७०
मतदाता नामावली संकलन शुरु हुन सकेन
गृहमन्त्रालयको नागरिकता वितरण टोलीसँगै मतदाता नामावली संकलन गर्ने टोली पठाउने तयारी भए पनि प्राविधिक कारणले अझै एक–दुई दिन लाग्ने देखिएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगका आयुक्त अयोधीप्रसाद यादवले गृहमन्त्रालयका कारण मतदाता नामावली संकलनमा ढिलाई भएको जानकारी दिए । गृहमन्त्रालयले नागरिकता वितरणका लागि पठाएको टोलीसँगै समन्वय गरेर केही जिल्लामा शुरु भएको र बाँकीमा केही दिनमा नै टोली पठाउने यादवले बताए ।
गृहमन्त्रालयले नागरिकता वितरणका लागि ३ सय ५ वटा टोली तयार गरे पनि गाउँ गाउँमा पुगिसकेका छैनन् ।
निर्वाचन आयोगले ८ सयभन्दा बढी टोली मतदाता नामावली संकलनमा पठाउने तयारी गरे पनि पहिलो चरणमा ३ सय ५ वटा टोली नै खटाउनेछ ।
गृहमन्त्रालयले प्राविधिक विषय नमिलेका कारण एकदुई दिनमा टोली खटिने जानकारी दिएको छ । गृहमन्त्रालय नागरिकता फाँटका अधिकृत उमेश ढकालले केही प्राविधिक तयारी बाँकी रहेको र एकदुईदिन भित्रै टोली खटाउने जानकारी दिए ।
बैशाखको पहिलो हप्ताबाट ३ सय वटा टोली खटिने निर्णय भए अनुसार यो हप्ताबाट गाउँ गाउँमा जाने र बाँकी ५ सय ६१ वटा टोलीका लागि मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै पठाउने ढकालले बताए ।
