समाचारबिहीबार, बैशाख ५, २०७०
वैद्यले भने, ‘तत्काल समितिमा आइँदैन’
नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यको निवास धापासी ५ बैशाख विहान पुगेका नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले वैद्यलाई उच्चस्तरीय राजनीतिक समितिमा सहभागी भई निर्वाचन प्रक्रियामा सामेल हुन प्रस्ताव गरेका छन् ।
बैद्यले कोइरालाले वार्ताको माध्यमबाट समाधान खोज्न र उच्चस्तरीय राजनीतिक समितिमा आउन आग्रह गरेको तर आफूले तत्काल सम्भव नभएको जवाफ दिएको बताए ।
सभापति कोइरालाले आन्दोलनबाट समस्याको समाधान नहुनेभन्दै वार्तामा आउन आग्रह गरे पनि माओवादी अध्यक्ष वैद्यले भने वर्तमान सरकारको गठन प्रक्रिया नै असंवैधानिक भएकाले त्यसलाई सच्याउन आग्रह गरेका थिए ।
वर्तमान सरकारले गराउने आगामी निर्वाचनको विरोध गरिरहेका दलका नेताहरुलाई निर्वाचनमा सहभागी गराउन उच्चस्तरीय समितिको नेतृत्व पाए लगत्तै कोइरालाले प्रयास गरेका हुन् ।
बिहान साढे १० बजेपछि भएका भेटवार्ता करिव ४० मिनेटसम्म चलेको थियो ।
