थप समाचारबिहीबार, बैशाख ५, २०७०
टेक्ससमा विष्फोट, जन–धनको ठूलो क्षति
स्थानीय एक अधिकारीका अनुसार टेक्ससको रासायनिक मल बनाउने कारखानामा स्थानीय समय अनुसार बुधबार साँझ ७:५० बजे विष्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १६० भन्दा बढी घाइते भएका छन् ।
विष्फोटबाट दर्जनौं भवनहरु क्षतिग्रस्त भएका छन् भने धेरैमा आगो लागेको छ । मृतकको संख्या अझै धेरै बढन सक्ने बताइएको छ । कारखानामा विष्फोट हुँदा कति कर्मचारीहरु त्यहाँ थिए भन्ने पनि खुलिसकेको छैन ।
आपतकालिन उद्दारका लागि त्यसक्षेत्रमा दमकल, एम्बुलेन्स र ६ वटा हेलिकप्टर परिचालन गरिएको छ ।
स्वास्थ्यकर्मीहरुले स्थानीय खेल मैदानमा क्याम्प खडा गरेर आपतकालिन उपचार गरिरहेका छन् । स्थानीय टेलिभिजनका अनुसार धेरै भवनहरुमा आगो लागेको छ ।
हिलक्रेस्ट मेडिकल सेन्टरका प्रवन्धक ग्लेन ए रविन्सनले उनको अस्पतालमा ६६ जना घाइते ल्याइएको र ३८ जनाको अवस्था गम्भीर रहेको समाचार एजेन्सी एपीलाई बताएका छन् ।
एक अपुष्ट खबरका अनुसार स्थानीय नर्सिंग होमको भवन भत्किएको छ र त्यहाँ धेरै व्यक्तिहरु फसेको आशंका गरिएको छ ।
टेक्ससका गभर्नर रिक पेरीले दुर्घटनाका बारेमा नयाँ नयाँ सूचनाहरु आइरहेको भन्दै उद्दार र अनुसन्धान जारी रहेको बताएका छन् ।
बीबीसी
