थप समाचारशुक्रबार, बैशाख ६, २०७०

परवेज मुशर्रफ गिरफ्तार

हिमालखबर

५ बैशाखमा पाकिस्तानको उच्च न्यायालयले जमानतको निवेदन खारेज गर्दै पक्राउ गर्न आदेश दिएका पूर्व सैनिक शासक परवेज मुशर्रफले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

इस्लामावादस्थित आफ्नो फार्म हाउसमा कडा सुरक्षाबीच रहेका मुशर्रफलाई प्रहरीले चारैतिरबाट घेरा हालेपछि उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् । मुशर्रफ रेञ्जर सुरक्षामा बुलेटप्रुफ कारबाट अदालतमा गएको पाकिस्तानी सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनलाई ६ बैशाखमा न्यायिक मजिस्ट्रेटको अदालतमा पेश गरिएको छ । इस्लामावाद प्रहरीले मुख्य आयुक्तलाई मुशर्रफको सुरक्षा चिन्तालाई ध्यानमा राखेर उनलाई उनकै घरमा नजरबन्द गरेर राख्नका लागि अनुमति मागेको छ, जसको अहिलेसम्म कुनै प्रतिक्रिया नआएको बीबीसीले जनाएको छ ।

५ बैशाखमा अदालतले पक्राउ आदेश जारी गर्दा अदालतमै रहेका मुशर्रफलाई प्रहरीले पक्राउ गरेको थिएन भने उनी सुरक्षा घेरबीच अदालतबाट निक्लेर आफ्नो फार्म हाउसतर्फ लागेका थिए । उनलाई गिरफ्तार नगरेकोमा इस्लामावाद ‘हाइकोर्ट’ ले त्यहाँका प्रहरी प्रमुखलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

इस्लामावादका प्रहरी आइजीले देशको सुरक्षास्थिति राम्रो नभएकोले मुशर्रफलाई उनकै घरमा कडा सुरक्षाबीच राख्ने र अदालतले बोलाएका बेला उपस्थित गराउने भनेका छन् ।

सैनिक शासक मुशर्रफलाई उनको शासनकालमा बरिष्ठ न्यायाधीशहरुलाई गैर कानूनी तरिकाबाट हिरासतमा राखेको आरोपमा अदालतले गिरफ्तारीको आदेश दिएको हो ।

सैनिक कूबाट सत्तामा पुगेका मुशर्रफ सन् २००८ मा सत्ताबाट हटेपछि विदेशमा बस्दै आएका थिए । पाकिस्तान हुन गइरहेको आम निर्वाचनमा भाग लिन स्वदेश फर्केका उनले चार स्थानबाट दिएको उम्मेदवारी पनि खारेज भइसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>