थप समाचारशुक्रबार, बैशाख ६, २०७०
आज रामनवमी
असत्यमाथि सत्यको विजय गरेका श्रीरामको सम्झनामा आज रामका मन्दिरमा पूजापाठ गरिन्छ । काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिर तथा जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लागेको छ ।
त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख गरेको पाइन्छ । आजकै दिन रामको स्मृतिमा मुलुकभर पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म– –वाल्मीकि– तुलसीकृत– भानुभक्तीय रामायण वाचन गर्ने र रामको पूजाआराधना गरी रातभर भजनकीर्तन गर्ने परम्परा छ ।
अयोध्याका राजा दशरथका जेठा छोरा भई विष्णुको सप्तम अवतारका रूपमा जन्मेका रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरेको तथा आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
