समाचारशुक्रबार, बैशाख ६, २०७०
तीन महिनाअघिमात्र मिति घोषणाः देउवा
६ बैशाखमा सर्लाहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस नेता शेरबहादुर देउवाले निर्वाचन हुनुभन्दा तीन महिना पहिले मात्रै निर्वाचनको मिति घोषणा हुने बताएका छन् । उनले दलहरुबीच निर्वाचन मंसीरमा गराउने सहमति भएको पनि दाबी गरेका छन् ।
“मिति घोषणा भएको तीन महिनामा निर्वाचन हुन्छ, पहिले नै मिति तोक्ने हो भने अनेकौं समस्या, झमेला आइलाग्छन,” देउवाले भने । उनले निर्वाचनका लागि आधारभूत काम गर्न बाँकी रहेकाले पनि असारमा निर्वाचन हुन नसकेको बताए ।
लालबन्दीमा आयोजित पत्रकार सम्मेलनमा देउवाले जनजाति, मधेशी र महिलाको सवालमा पार्टीले महत्वपूर्ण निर्णय गरेको भन्दै नेपाली कांग्रेसले आगामी निर्वाचनमा मधेशबाट भारी बहुमत प्राप्त गर्ने पनि दाबी गरे ।
देउवाले केही दलहरुले निर्वाचनको विरोध गरेर अनावश्यक बखेडा झिकेको भन्दै उनीहरु अन्तिम समयसम्ममा निर्वाचनमा सहभागी हुने दाबी गरेका थिए ।
