थप समाचारशनिबार, बैशाख ७, २०७०
बोस्टन विष्फोटका आरोपी पक्राउ
३ जनाको निधन र १८० व्यक्ति घाइते हुने गरी भएको बोस्टन बम विष्फोटमा संलग्न भएको आरोपमा अमेरिकी प्रहरीले रुसको चेचेन क्षेत्रका मूलबासी १९ वर्षीय जोखर सारनाइवलाई बोस्टनको वाटरटाउन क्षेत्रबाट पक्राउ गरेको छ ।
गम्भीर घाइते अवस्थामा पक्राउ परेका सारानाइवलाई प्रहरीले अस्पतालमा भर्ना गराएको छ । सारानाइवलाई नियन्त्रणमा लिएपछि बोस्टन प्रहरीले खोजी समाप्त भएको र न्यायको जीत भएको भन्दै ट्वीट गरेको छ ।
प्रहरी नियन्त्रणमा रहेका जोखर सारनाइवका दाई २६ वर्षीय तामेरलेन सारनाइवको यसअघि शुक्रबार नै प्रहरीको गोलीबाट मृत्यु भइसकेको छ । त्यसबेला जोखार एउटा कारलाई जबरजस्ती नियन्त्रणमा लिएर भाग्न सफल भएका थिए ।
पक्राउ परेका आरोपी जोखर कलेजका छात्र भएको र उनी विगत एक दशकदेखि अमेरिकामा बस्दै आएको बीबीसीले जनाएको छ । प्रहरीका अनुसार बोस्टनको एमआइटीमा भएको गोली काण्डमा पनि यीनै दाजु–भाई संलग्न थिए, जस्ले प्रहरीमाथि विष्फोटक फाल्नुका साथै गोली चलाएका थिए । त्यसबेला गोली लागेर एक प्रहरीको मृत्यु भएको थियो भने जोखरका दाई तामरलेन पनि मारिएका थिए ।
प्रहरीले यसअघि नै यी दुवै संदिग्ध दाजुभाईको तस्बीर सार्वजनिक गरेको थियो ।
आक्रमणकारीहरुलाई पक्राउ गर्न बोस्टन प्रहरीले सम्पूर्ण शहर बन्द गराउनुका साथै मानिसहरुलाई पनि घरबाहिर ननिक्लन आदेश दिएको थियो ।
यसअघि सन् २०११ मा पनि सारनाइव संदिग्ध गतिविधिमा लागेको आशंकामा उनीसँग सोधपुघ गरिएको थियो तर त्यसबेला उनी निर्दोष देखिएपछि प्रहरीले कार्वाही रोकेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

