थप समाचारशनिबार, बैशाख ७, २०७०
चीनमा भूकम्प, कम्तीमा ११३ को मृत्यु, तीन हजार बढी घाइते

चीनको सिचुआन प्रान्तमा भूकम्पबाट आएको पहिरोले अवरुद्ध बाटोबाट मोटरसाइकल निकाल्दै स्थानीय । तस्बीर: सिन्ह्वा
चीनको सिचुआनमा ७ बैशाख विहान आएको भूकम्पबाट कम्तीमा पनि ११३ व्यक्तिको मृत्यु भएको र तीन हजार भन्दा बढी घाइते भएको चीनको सरकारी टेलिभिजनले जनाएको छ । तर, मृतक र घाइतेको संख्या यो भन्दै धेरै हुनसक्ने अनुमान गरिएको छ ।
यूएस जियोलजिकल सर्वे (यूएसजीएस)का अनुसार भूकम्पको तीव्रता ६.६ रिक्टरस्केल मापन गरिएको छ भने चिनियाँ सेस्मोलोजी विभागले तिव्रता ७ भएको बताएको छ । सन् २००८ मा सिचुआनमा ८.० तीव्रताको भूकम्प जाँदा करिब ९० हजार व्यक्ति मारिएका थिए ।
भूकम्प स्थानीय समय अनुसार बिहान ८:२ बजे आएको हो । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भुकम्पको झट्का केन्द्रभन्दा ७१ किलोमिटर टाढा सिचुआनको राजधानी चेंदगुमा पनि महशुस गरिएको छ ।
एक चिनियाँ वेबसाइटले भूकम्पमा सैयाँ व्यक्ति मारिएको उल्लेख गरेको छ ।
यूएसजिएसले ठूलो संख्यामा मानिसहरु हताहत भएको आशंका गरेको छ ।
