समाचारशनिबार, बैशाख ७, २०७०
भट्टराईको आक्षेप निराधारः गच्छदार
वीरगञ्जमा ७ बैशाख विहान आयोजित पत्रकार सम्मेलनमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रपति यादवले चार पटक कू को प्रयास गरेको भनी एमाओवादी उपाध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दिएको अभिव्यक्ति पूर्णरुपमा गलत भएको बताएका छन् ।
भट्टराई नेतृत्वको सरकारमा उपप्रधानमन्त्री रहेका गच्छदारले राष्ट्रपति सँधै संविधान अनुसार चलेको भन्दै आफनो मर्यादा र सरकारको निर्णय विपरित राष्ट्रपतिले कुनै गतिविधि नगरेको दाबी समेत गरे ।
उनले भने, “राष्ट्रपतिको बारेमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दिएको अभिव्यक्तिमा कुनै सत्यता छैन, राष्ट्रपति सँधै आफ्नो मर्यादामा बस्नुभएको छ ।”
गच्छदारले मंसीरमा जुनसुकै हालतमा पनि संविधानसभाको चुनाव हुने भन्दै मुलुकको समस्या सामाधानका लागि चुनाव नै एक मात्र विकल्प भएकोमा जोड दिए ।
“कानूनी र प्राविधिक अड्चनका कारण असारमा चुनाव हुने सम्भावना टरेको छ, अब कात्तिको अन्तिम साता वा मंसीरको पहिलो हप्ता जसरी पनि चुनाव हुन्छ,” गच्छदारले भने ।
उनले केही दलहरु लोकतन्त्रलाई कमजोर बनाउने खेलमा लागेका आरोप लगाउँदै उनीहरुले चुनाव भाँडने षडयन्त्र गरिरहेको बताएका थिए ।
भट्टराईले ६ बैशाखमा केही सञ्चारकर्मीहरुसँग कुरा गर्दै गत १४ जेठमा संविधानसभा विघटनलगत्तै, ७ साउनमा निर्वाचनसम्बन्धी अध्यादेश रोकेर, दशैं र तिहारको बीचमा र ७ मंसीरमा निर्वाचन हुन नसकेपछि गरी चार पटक राष्ट्रपतिले ‘कु’ को प्रयास गरेको दाबी गरेका थिए ।
अली असगर, वीरगञ्ज
